file photo

हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड अवरुद्ध भएका छन् । सोमबार दिउँसोको अविरल वर्षाका कारण सडकमाथिबाट खसेको लेदोका कारण सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८, महादेवटारस्थित कान्ति लोकपथमा वर्षाका कारण लेदो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको प्रहरीको हो । बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र फास्ट ट्र्याकसँग समन्वय गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।

यस्तै, जिल्लाको कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ रामचन्द्र भञ्ज्याङमा सडकमाथिबाट लेदो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा पनि प्रहरी र सडक डिभिजनको टोलीले सडक खुलाउने कार्य गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ।