हेटौँडाः नेपाल स्काउटको हेटौंडा उपमहानगर समितिको आयोजनामा ३ दिने प्रथम हेटौँडा उपमहानगरपालिकास्तरीय स्काउट पेट्रोल लिडर तालिम सम्पन्न भएको छ । हेटौँडा भित्र स्काउट संचालन भएको तालिममा १३ वटा ट्रुपबाट छात्र छात्रा गरी एक सय २० जना सिनियर स्काउटहरु सहभागी थिए ।

नेपाल स्काउटको युवा कार्यक्रम अन्तर्गत विद्यालय तहमा स्काउट इकाइ गठन भएको स्काउट ट्रुपका दल नायक तथा टोली नायकहरु तालिममा सहभागी भएका थिए । स्काउट संचालन भएका विद्यालयहरुमा एकरुपतामा स्काउट कार्यक्रम सञ्चालन गर्न र नेपाल स्काउटको परिमार्जित विभिन्न विषयहरुमा जानकारी गराई नेतृत्व विकास गर्नका लागि तालिम सञ्चालन भएको थियो । तीन दिनसम्म सञ्चालन भएको पेट्रोल लिडर तालिममा नेतृत्व विकास, दल तथा टोली नायक परिषद् प्रणाली, विपद्मा डोरीको प्रयोग र अभ्यास, बालअधिकार, समुह परिचालन र कार्यक्रम निर्माण, प्राथमिक उपचार, स्काउटका विभिन्न झण्डाको प्रकार र यसको प्रयोग, ब्याच तथा विभिन्न जिवनोपयोगी सीपहरु सिकाइएको छ ।

प्रतियोगात्मक रुपमा विपद्को समयमा बिना भाँडा खाना बनाउने, जंगल पदयात्रा तथा सर्वधर्म सभा कार्यक्रम समेत आयोजना गरिएको थियो । शुक्रबार औपचारिक उद्घाटन भएको कार्यक्रम नेपाल स्काउट हेटौँडा उपमहानगर समितिका प्रमुख आयुक्त अनिल आचार्यको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको छ ।

समापन कार्यक्रममा प्रथम पेट्रोल लिडर तालिमको कोर्ष लिडर अशोक सारु मगर र लक्ष्मी थापा, नेपाल स्काउट थाहा नगरपालिकाका प्रमुख आयुक्त गणेशमान श्रेष्ठ, बागमती गाउँपालिकाका प्रमुख आयुक्त राजकुमार राई, राष्ट्रिय परिषद्का सदस्य सुरेन्द्र का रन्जित लगायतका अतिथिहरु रहनु भएको थियो । तालिममा शिवकुमाार त्वयना, अशोक सारु मगर, लक्ष्मी थापा, सुशीलराज गिरी, सौजन डिसी, अनिल आचार्य, इन्द्रमणि दाहाल, दीक्षा दाहाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।