हेटौंडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न एमालेका मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । मंगलवार बागमती प्रदेश नेकपा एमाले संसदीय दलको कार्यालयमा एमालेबाट नियुक्त हुनुभएका मन्त्रीहरुलाई निर्देशन दिनुहुँदै इन्चार्ज भट्टराईले पछिल्लो समय प्रदेशप्रति देखिएको नकारात्मक धारणा चिर्दै उत्कृष्ट कार्य गरेर जनतामा आशा जगाउने गरि कार्य गर्न आग्रह गर्नुभयो । मन्त्रीहरुलाई उहाँले आफ्नो योग्यता, क्षमता र इमान्दारीताका साथ जनतासँग जोडिएर काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले यो सरकार लामो समयसम्म चल्ने बताउँदै सुनौलो बागमती निर्माणमा चुस्त दुरुस्त भएर अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरुलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा कृषि तथा पशु पन्छी बिकाश मन्त्री प्रकाश श्रेष्ठले बर्तमान अवस्थामा भईरहेको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङ, केन्द्रिय सल्लाहकार सदस्य तथा पूर्व मुख्यमन्त्री डोरमणी पौडेल , केन्द्रिय सदस्य बाबुराम थापा , बागमती प्रदेश उपाध्यक्ष दावादोर्जे लामा लगायत मन्त्री तथा सांसदहरुको उपस्थिती रहेको थियो ।