मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले गरेको कर वृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघलगायत हेटौंडाका व्यवसायीहरु आन्दोलित भएका छन् । कर बृद्धीको विरोधमा संघले आज पत्रकार सम्मेलन गर्दै पाँच दिने चरणबद्ध आन्दोलनको कार्यक्रम घाेषणाा गरेकाे हाे ।

उपमहानगरपालिकाले अस्वभाविक रुपमा कर बृद्धी गरेपछी बाध्य भएर आन्दोलनका कार्यक्रम गर्नु परेको मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताउनुभयो । कर बृद्धिको बिरोधमा संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको गत असार ७ गते सम्पन्न १५औं नगर सभाबाट राजश्वको दरमा वृद्धि गर्ने निर्णय गरेको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को लागि वाहलकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको छ । उक्त निर्णय गुपचुपमै भएको भन्दै व्यवसायीहरुले यसअघि नै उपमहानगरको ध्यानाकर्षण गराउँदै उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघलगायतले कर वृद्धिको निर्णय फिर्ता लिन माग समेत गरेका थिए । तर ध्यानाकर्षण गराउँदा समेत उपमहानगरपालिकाले चासो नदेखाएकाले आन्दोलन गर्न बाध्य भएको संघले जनाएको छ ।

संघको नेतृत्वमा सोमबारबाट आन्दोलन सुरु गर्दै राजनीतिक दलका भातृ संगठन र सहकारी संस्थाका प्रतिनिधिहरुसँग कर वृद्धिको विषयमा छलफल गर्नुका साथै व्यवसायी तथा व्यापारीको भेला आयोजना गरेर पत्रकार सम्मेलन मार्फत आन्दोलनको औचित्य, संघको धारणा र संघर्षका कार्यक्रमबारे जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष अग्रवालले व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था रहेको अहिलेको परिस्थितीमा कर बृद्धिले व्यवसायि थप मारमा पर्ने हुँदा यस तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आर्थिक मन्दीका कारण निम्त्याएको असरमा सुधार नआएको अवस्थामा राजस्वको दरमा वृद्धि गरी व्यवसायीलाई मारमा पार्ने काम भएको बताउनुभयो ।

आन्दोलनका कार्यक्रम अन्तरगत भोली मंगलबार कर अवज्ञा गर्न व्यवसायी र नगरवासीलाई आह्वान गर्न सुरु गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने संघका उपाध्यक्ष उज्वल चौलागाईंले बताउनुभयो । यस्तै बुधबार हेटौंडा बजारको बुद्धचोकसँगै विभिन्न स्थानमा राजश्व वृद्धिको निर्णयविरुद्ध हस्ताक्षर संकलन गर्ने, हेटौंडा उपमहानगरपालिकामा १ घण्टा धर्ना दिने, राजश्व वृद्धिको विरोधमा विभिन्न स्थानमा कालो व्यानर राख्ने जनाइएको छ । यस्तै बिहीबार हेटौंडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने उपाध्यक्ष चौलागाईले बताउनुभयो । संघर्षको कार्यक्रमअन्तर्गत शुक्रबार –यालीसहित व्यवसाय बन्द गरी हेटौंडा उपमहानगरपालिकामा चावी बुझाएर पहिलो चरणको आन्दोलनको कार्यक्रम समापन गर्ने बताइएको छ ।