मकवानपुर । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको बिपक्षमा मत दिन ह्वीप जारी गरेको छ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई बिपक्षमा मत दिन आज ह्वीप जारी गरेको हो ।

एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले एमाले सांसदहरुलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य  उपस्थित भई मुख्यमन्त्रीको विश्वासको मतको बिपक्षमा मत दिन  ह्वीप जारी गरिएको जानकारी दिनुभयो । 

मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा बनेको वर्तमान सरकार एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको हो । सङ्घीय सरकारमा कांग्रेस एमालेसहितको गठबन्धन बनेसँगै प्रदेशमा पनि एमालेले समर्थन फिर्ता लिएको थियो ।