file photo

आज असार शुक्ल पूर्णिमा र्अथात गुरुपूर्णिमा पर्व, गुरुहरु प्रति सम्मान भाव प्रकट गरी मनाइँदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइन्छ ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश हुन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ ।

विभिन्न ग्रन्थमा गुरुलाई यसो भनिएको पाइन्छ:

गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

गुरु पूर्णिमाका अवसरमा आजको दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

आज व्यास जयन्ती पनी मनाइदै

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । असार शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले आजको दिन व्यास जयन्ती मनाउने गरिएको हो ।