मकवानपुर– बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा बिहीबार बसेको छ । प्रतिष्ठानका कुलपति समेत रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा बसेको बैठकले तीनवटा नियमावली पारित गरेको छ ।

सभाले ३ वटा नियमावली पारित गर्नुका साथै ऐनमा संशोधनको प्रस्ताव पारित गरेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिनुभएको छ । प्रतिष्ठानको तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, सर्त र सुविधासम्बन्धी नियमावली, अस्पताल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नियमावली पारित गरेको उहाँले बताउनुभयो । यस्तै सभाले जनशक्ति तथा व्यवस्थापन सम्बन्धी मापदण्ड पनि पारित गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षबाटै तीन वटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानले प्रतिष्ठानमा नियुक्त भई कार्य गर्ने प्राध्यापकहरुको तलब स्केल समेत निर्धारण गर्ने निर्णय गरेको रजिष्ट्रार प्रसाईले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले प्रतिष्ठानको सभा सदस्यमा रमिला घलानलाई मनोनित गरेको छ । प्रतिष्ठानमा आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक, दलित मध्येबाट एकजना महिलासहित दुईजना सभाको सदस्यमा मनोनित गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्यमा मनोनित गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।