मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल कम्युनिष्ट पाट्री (नेकपा) का कार्यकर्ताहरुले “नेपाल खुल्ला छ” भन्दै प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल पक्षले घाेषणा गरेकाे आमहड्तालकाे बिराेधमा नेकपा ओली पक्षका कार्यकर्ताले नेपाल बन्द नरहेको नारा लगाएका हुन् ।

हेटौंडाको बुद्धचोकमा ओली पक्षका नेताकार्यकर्ताले नेपाल बन्द नरहेको नारा लगाएका थिए । उनिहरुले हेटौंडाको बुद्धचोक–कान्तिलोकपथ, पारिजातपथ, स्कुलरोडलगायत मुख्यम बजार क्षेत्रमा देशब्यपी रुपमा भएको आमहड्तालको बिरुद्धमा ¥यालीसहित नेपाल बन्द नरहेको भन्दै नाराबाजी गरेका थिए । हड्तालको बिरुद्धमा उत्रेका ओली पक्षका नेताहरुले प्रचण्ड–माधव पक्षले पदको लागि हड्ताल गरेको आरोप लगाएका थिए । पदको लागि देशब्यापी आमहड्ताल गरेर नेपाली जनतालाई दुख दिन नमिल्ने उनीहरुको भनाई छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले गरेको बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा भने सामान्य रहेको छ । प्रदेश राजधानी हेटौंडामा छोटो दुरीको सवारी साधन सुचारु छन भने, लामो दुरीको सवारी साधन छिटफुट रुपमा सञ्चालित भएको छ । हेटौंडाको बुद्धचोक, सिमाचोक, स्कुलरोड, कान्तिलोकपथ, पारिजातपथलगायत बजार क्षेत्रका पसल तथा ब्यवसायहरु आंशिक बन्द छन् । अतिआवश्क औषधी पसल मेडिकल लगायतका पसलहरु खुल्ला रहेको छ । हेटौंडा बजार क्षेत्रमा एम्बुलेन्स, दुधका गाडी छोटो दुरीमा चल्ने अटो, मयुरी, मोटरसाइकलहरु चलेका छन् । भने, लामो दुरी चल्ने बस, मालबहाक गाडीहरु छिटफुट रुपमा चलेका छन् ।

आन्दोलनकारीले हेटौंडाको बुद्धचोक र थानाभञ्याङ्गमा गरी २ वटा ट्रक र सिमाचोकमा एउटा मोटरसाइलकमा तोडफोड गरेका छन् । आन्दोलनकारीले आमहड्तालको बिरोध गर्ने दुई जना युवकमाथि कुटपिट गरेका छन् भने दुई ट्रक र एक मोटरसाइकल तोडफोड गरेका हुन् । आन्दोलनको बिरोध गरेको भन्दै आन्दोलनकारीले हेटौंडा–५ का रुपक महत र दिलिप संजेललाई कुटपिट गरेका हुन् । त्यस्तै प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताहरुले झण्डामा रड, फलामे पाइपहरु लिएर आमहड्तालमा उत्रेका छन् । पार्टीको सुर्य र हसिया हतौडा अंकित झण्डामा फलामे पाइप र रड लिए हेटौंडाको सिमाचोकमा सयौँको संख्यामा कार्यकर्ता आन्दोलनमा उत्रेका छन् ।

त्यस्तै, प्रहरीले धारिलो हतियार सहित एक युवकलाई पक्राउ गरेकाे छ । हेटौंडा बजार विभिन्न क्षेत्रमा सयौँको संख्या प्रहरीसंगै सशस्त्र प्रहरीहरुको परिचालन गरिएको छ । हेटौंडाका व्यवसायीहरुले हड्तालका कारण कोरोना महामारीका कारण थलिएको ब्यवसायहरुमा ठुलो आर्थिक क्षति भएको भन्दै बिरोध गरेका छन् । उनिहरुले बन्द हड्ताल भन्दा अन्य बिकल्प खेज्नु उपयुक्त हुने बताएका छन् ।