काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको समूहको गतिविधिले कम्युनिष्ट आन्दोलन नै बदनाम हुन पुगेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपाल समूहको गतिविधि लोकतन्त्र र कम्युनिष्ट एकता विरोधी भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भूमिहीन किसानका समस्या समाधान गर्न आफूले हरेक पटक सरकारमा हुँदा प्रयास गर्दै आए पनि पार्टीका नेताहरूको असहयोगका कारण सफल हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालीहरूमा विदेशमा उत्पादित खाद्यान्न प्रति आकर्षण बढेका कारण नेपालमा पर्याप्त खाद्यान्नको उत्पादन भए पनि विदेशबाट आयात गर्नुपरेको बताउनुभयो । उहाँले देशभित्र उत्पादन हुने कृषि उपजको सदुपयोग गर्न सके सम्पूर्ण नेपालीलाई पुग्ने गरी खाद्यान्न उत्पादन हुने गरेको बताउनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले आगामी दिनमा किसानलाई रासायनिक मलको अभाव नहुने गरी सरकारले व्यवस्था मिलाएको बताउनुभयो । मन्त्री अर्यालले यस वर्षको गहुँ खेती तथा आगामी वर्षा यामको धान खेतीका लागि आवश्यक रासायनिक मल आयात तथा भण्डारणको व्यवस्था भई सकेको र आगामी दिनमा समेत नियमित आयात हुने व्यवस्था मिलाएको बताउनुभयो ।
Home प्रमुख समाचार प्रचण्ड–माधव समूहको गतिविधिले कम्युनिष्ट आन्दोलन नै बदनाम हुन पुग्यो : प्रधानमन्त्री