मकवानपर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छान्ने प्रकृयाका लागि निर्वाचन कमिटी गठन गरेको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने राष्ट्रिय महाधिबेशनमा लोकतान्त्रिक विधीबाट प्रतिनिधी छनौट गर्न जिल्लाका दुई निर्वाचन क्षेत्र र दलीत तर्फ छुट्टाछुट्टै निर्बाचन कमिटी गठन गरेको हो ।
एमाले मकवानपुरका अनुसार प्रतिनिधी छनौटका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का लागि एमाले प्रदेश सदस्य देवराज रिमाल प्रमुख निर्वाचन अधिकृत रहनेगरी ४ सदस्यीय र निर्वाचन क्षेत्र नम्बर २ का लागि एमाले केन्द्रीय सदस्य रामेश्वर राना प्रमुख निर्वाचन अधिकृत रहनेगरी ३ सदस्यीय तथा दलीत तर्फ प्रतिनिधी छनौटका लागि इन्द्र नेपाल प्रमुख निर्वाचन अधिकृत रहने गरी तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ ।
निर्वाचन कमिटीले कार्तिक २५ गतेबाट निर्वाचन प्रकृया सुरु गर्ने बताईएको छ । यही कार्तिक २५ गते विहान ११ः३० देखि १२ः३० बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुने एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले बताउनुभयो । कार्तिक २६ गते विहान १० बजेसम्म उम्मेदवारी फिर्ता लिन समय निर्धारण भएको छ । सर्वसम्मत रुपमा प्रतिनिधी छनौट हुन नसके कार्तिक २७ गते १० बजेदेखि ३ बजेसम्म मतदान प्रकृयाबाट प्रतिनिधी छानीने लम्सालले जानकारी दिनुभयो ।
महाधिवेशन प्रतिनिधिका लागि मकवानपुर जिलाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर. १ वाट अनन्त पौडेल, रामचन्द्र राई, कृष्ण प्रसाद दहाल, रघुनाथ खुलाल, बद्रि लम्साल, कमल बिष्ट, गोपाल श्रेष्ठ, ध्रुबप्रसाद चौलागाई, फुर्वा लामा लगायतका नेताहरु बीच प्रतिष्पर्धा हुने भएको बुझिएको छ । भने, निर्वाचन क्षेत्र नम्बर २ वाट एकालाल श्रेष्ठ, महेश वर्तौला, एकराज उप्रेती, सवासचन्द्र ठकुरी, हिदम लामा, बिष्णुप्रसाद ढकाल, उत्तम न्यौपाने, लगायतका नेताहरु प्रतिष्पर्धामा हुनुहुन्छ ।