मकवानपुर । श्यामप्रसाद शर्मा स्मृति सम्मान–२०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित हुनुभएको छ । साहित्य संगम मकवानपुरद्वारा प्रत्येक वर्ष हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा प्रदान गर्ने गरिएको उक्त सम्मान यो वर्ष राजनीतिज्ञ एवम् साहित्यकार ज्ञवालीलाई प्रदान गरिएको हो ।

नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्रीसमेत रहनुभएका ज्ञवालीलाई हेटौंडामा आज एक समारोहकाबीच बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २५ हजार राशीसहितको उक्त सम्मान समर्पण गर्नुभयो । नेपाली राजनीति, पत्रकारिता र साहित्य (प्रगतिशील साहित्य लेखन)मा सक्रिय स्वर्गीय श्यामप्रसाद शर्माको नाममा सम्मान समर्पण यसअघि १५ हजार राशिको रहेकोमा यसै वर्षदेखि २५ हजार राशि पुरयाइएको हो ।

सो अवसरमा ज्ञवालीले पसल छेउ उभिएकी केटि, बिटुलिएको झुपडी, म कर्णाली, तिम्रो अस्वमेधको बिरुद्ध, बिना अनुहारको रात, बाच्न चाहन्छु म, आस्था ओ मेरि प्रीया र बिना शालिकका नायकहरुलगायतका कविता वाचन गर्नुभएको थियो । भने, ज्ञवालीद्धारा रचित गीत कलाकार आशाकाजी श्रेष्ठ र गायक÷मुक्तककार अजर फुयाँलले गाउनुको थियो । यस्तै कार्यक्रममा साहित्यकार निमेष निखिल र सुवास खनालले ज्ञवालीका कविताहरू वाचन गर्नु भएको थियो । साहित्य संगम मकवानपुरको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रवर्धनमा ज्ञवालीको एकल कविता वाचन कार्यक्रममा समीक्षक घनश्याम घिमिरेले समीक्षा गर्नुभएको थियो ।