हेटौंडा । नेकपा एमाले मकवानपुरको १२औं जिल्ला अधिवेशनअन्तर्गत् आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज दिउसो १ बजेदेखि मतदानको तयारी भईरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्ष पदका लागि शनिबार ६ बजेभित्र ५ जनाको उम्मेदवारी परेको थियो । रघुनाथ खुलाल, श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालले मनोनयन दर्ता गराउनु भएको थियो । आइतबार रघुनाथ खुलालले अध्यक्षबाट उम्मेदवारी फिर्ता लिनु भएको छ । निर्वाचन समितिका अनुसार बिहान ९ बजेभित्र उम्मेदवारी फिर्ताका लागि समय सीमा तोकेकोमा खुलालले उम्मेदवारी फिर्ता लिनु भएको हो ।

संस्थापन पक्षका नेता खुलालले अर्का उम्मेदवार इन्द्रमान स्याङ्तानलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । “पार्टीले अगाडी सारेको उम्मेदवार ईन्द्रमानको पक्षमा समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेको हुँ ” उहाँले भन्नुभयो । उहाँले भर्ममा नपर्नु समेत सम्पूर्ण प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

एमाले मकवानपुरको अध्यक्षमा अब स्याङ्तान, पोख्रेल, थापा र रिमालबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै उपाध्यक्षमा ४ जना, सचिवमा ५ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जना गरी अध्यक्षसहित पाँच जना पदाधिकारीका लागि २८ जनाको उम्मेदवारी परेको हो ।

उपाध्यक्षमा सुनिल मोक्तान, हिदम लामा, ध्रुव चौलागाई र भरत दुलालको उम्मेदवारी परेको छ । चारवटै उम्मेदवारी कायम रहेको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा मदनकुमार दाहाल, सीता विष्ट, सुमित्रा काफ्ले, नरहरि महत र राजन थापाको उम्मेदवारी परेकोमा काफ्ले र महतले उम्मेदवारी फिर्ता लिएका छन् ।

उपसचिव खुलातर्फ इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दिपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज जर्घा मगर, उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी परेको छ । उपसचिव खुला र महिलातर्फका सबै उम्मेदवारी कायम रहेको छ ।

पाँच जना पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन हुन लागेको हो । १० प्रतिशत सदस्य निर्वाचन जिल्ला कमिटीले मनोनीत गर्न सक्ने विधानत् व्यवस्था छ । जिल्ला कमिटीमा १०० जना सदस्य निर्वाचित हुनेछन् । अधिवेशनमा ७७७ जना प्रतिनिधिले मतदान गर्नेछन् ।