अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको छ । अमेरिका–चीनकाे यो भेटलाई संसारभरबाट महत्त्वका साथ हेरिएको छ ।
‘ग्रेट हल अफ द पिपुल’ मा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले चीन–अमेरिकामात्र नभई विश्वभरकै अवस्थालाई सामान्य बनाउन दुई देशबीचको सम्बन्ध सुधार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति सीले अमेरिकीहरू जस्तै चिनियाँहरू पनि सम्मानित, आत्मविश्वासी र आत्मनिर्भर रहेकाले दुवै देशका नागरिकलाई सम्मानित जीवन जिउने अधिकार रहेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
दुवै देशले साझा हितलाई महत्त्व दिनुपर्ने भन्दै सीले चीन र अमेरिकाको सफलता एकअर्काका लागि खतराको सट्टा अवसर भएको उल्लेख गर्नुभयो । चीन र अमेरिकाको राम्रो सम्बन्धले विश्वशान्ति र विकासमा योगदान पुर्याउने भन्दै दुवै देश रचनात्मक बन्नुपर्ने सीको भनाइ छ । चीनले अमेरिकाको सधैँ सम्मान गरेको र अमेरिकाले पनि चीनको वैध अधिकारमा हस्तक्षेप गर्न नहुने चिनियाँ राष्ट्रपति सीले बताउनुभएको खबरमा उल्लेख छ ।
भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले चिनियाँ राष्ट्रपति सीको कुरामा समर्थन जनाउँदै दुई देशको सम्बन्ध सुधारमा जोड दिनुभएको छ । ब्लिन्केन पछिल्लो पाँच वर्षमा चीन भ्रमण गर्ने सबैभन्दा उच्च तहका अमेरिकी कुटनीतिज्ञ हुनुहुन्छ ।
पूर्वनिर्धारित तालिकामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता उल्लेख थिएन तर पछि यो भेट तय गरिएको थियो । राष्ट्रपति सीसँगको भेटअघि ब्लिन्केनले चिनियाँ समकक्षीसँग छ घण्टा लामो वार्ता गर्नुभएको थियो ।
Home अन्तराष्ट्रिय ब्लिन्केन–सी भेटवार्ता : ‘चीन र अमेरिकाकाे सफलता एकअर्काका लागि खतराकाे सट्टा अवसर’