हेटौँडा । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले वन भित्र अनावश्यक संरचना निर्माण गर्न नहुने बताउनु भएको छ । हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशालाको शनिबार समुद्घाटन गर्दै मन्त्री श्रेष्ठले वन भित्र अनावश्यक रुपमा सिमेन्टबाट बनेका संरचना निर्माण नगर्न आग्रह गर्नुभयो ।
प्राकृतिक सम्पदाको संरक्षण गर्दै वन तथा वातावरण क्षेत्रलाई जोगाउनेगरी मात्रै वनभित्र संरचना बन्नुपर्नेमा मन्त्रीको जोड थियो । संरचना बनाउने नाममा पुरातात्विक महत्वका संरचनालाई मास्नेभन्दा पनि संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा उहाले जोड दिनुभयो ।
प्रदेश सरकारको मन्त्री परिषद्ले गरेको निर्णय स्मरण गर्दै प्रदेशमा बन्ने संरचनामा अब स्वदेशी काठ अनिवार्य गरिएको बताउनुभयो । उहाले नेपालको जङ्गलमा काठहरु कुहिएर गइरहेको अवस्थामा विदेशबाट बार्षिक करिव १७ अर्बको काठ आयात भइरहेको प्रति चिन्ता व्यक्त गर्नु भयो।
वनस्खण्डी मन्दिर पर्यटन विकास समिति हेटौँडा २ को आयोजना एवम् बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आठ लाख ८९ हजार ४५१ रुपियाँ आर्थिक सहयोगमा व्यायमशाला निर्माण गरिएको हो । व्यायामशालाबाट सबैलाई लाभ लिन आग्रह गर्दै मन्त्री श्रेष्ठले अब जिवनशैली सुधार गर्नुपर्नेमा समेत जोड दिनुभयो । पछिल्लो समय अस्वस्थ खानपानका कारण मानिसहरुले धेरै रोगको सामना गर्नुपरेको बताउँदै प्राकृतिक खानपान अपनाउनुपर्ने उहाको भनाइ थियो ।
प्रदेशको राजधानी हेटौँडा जोड्ने सडकहरु धमाधम निर्माण भइरहेको बताउँदै अबको एक वर्षभित्र हेटौँडा–काठमाडौँको यात्रा सहज हुने विश्वास व्यक्त गनुभयो । निर्माण व्यवस्थापन समिति अध्यक्ष देवकी केसीको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाल र स्थानीयवासीको सहभागिता रहेको थियो ।