कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज सात मन्त्री र दुई राज्यमन्त्रीसहित सरकार विस्तार गर्नुभएको हो ।
गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री कार्कीले विस्तार गरेको मन्त्रीमण्डलमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की रहनुभएको छ ।
यसैगरी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैँ र पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर नियुक्त हुनुभएको छ । दुई राज्यमन्त्रीहरू सिर्जना राई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको राज्यमन्त्री र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री जिम्मेवारी दिइएको छ ।
नवनियुक्त, मन्त्रीहरूलाई आज कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । त्यसैगरी राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । संविधानको धारा १६८ (५) अनुसार अघिल्लो बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।