file photo

मकवानपुर । अन्तर प्रदेश राष्ट्रिय खेल्कुद २०८० अन्तरगत पुरुष फुटबलकाे फाइनलमा बागमती र काेशी प्रदेश भिड्ने भएका छन् । प्रदेश राष्ट्रिय खेलकुद अन्तरगत पुरुष फुटबलको फाइनल खेल शनिबार हेटौडा ६ स्थित गौरीटार रंगशालामा हुनेछ । 

गौरीटार रङ्गशालामा भएको बिहीबारकाे दाेस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पेनाल्टी सुटआउटमा ६ – ५ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थाप पक्का गरेकाे थियाे । खेलको निर्धारित समय ०-० गोलको बराबरी स्थितीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियाे । 

यसैगरी बुधबारकाे पहिलाे सेमिफाइनल खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएकाे थियाे ।

भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चैत्र २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरी सुरु प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तरगत पुरुष फुटबलकाे खेल मात्रै गौरीटार रंगशालामा भएकाे हाे । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा प्रतियाेगिता भएकाे हाे । 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलकाे प्रतिस्पर्धा भएका छन् । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा भएका छन् । प्रतियोगिताको समापन वैशाख १ गते शनिबार गौरीटार रंगशाला हेटौडामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नेछन् ।