मकवानपुर । मकवानपुरकाे इन्द्रसराेवर गाउँपालिका ३ सिस्नेरीमा अखिल नेपाल फुटवल संघ (एन्फा) ले खेलकुद एकेडेमी स्थापना गरेकाे छ ।फुटबलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ १३  वर्षमूनि पुरुष खेलाडीलाई मकवानपुरको बत्सलादेबी मावि सिभिल इञ्जिनियरिङ शिक्षालयमा प्रशिक्षणमा  राखिने भएको हाे । ३० जना छात्रहरुलाई नियमित अध्ययनमा बाधा नपर्ने खेल्दै पढ्दै गर्ने वातावरणमा उपलब्ध गराइने भएकाे हाे ।  

अखिल नेपाल फुटबल संघ एन्फाले छनौट गरेका खेलाडीलाई  विद्यालयको छात्राबासमा राखेर अध्ययन र प्रशिक्षणको व्यवस्था मिलाईएको हो। शुक्रबार एन्फा अध्यक्ष पंकज बिक्रम नेन्वाडको उपस्थिती मा महासचिव किरण राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास चन्द्र ठकुरीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । संबिधान सभा सदस्य समेत रहेका ठकुरीले खेल क्षेत्रमा उर्जाशिल युवाहरुकाे आवश्यकता रहेकाे  बताउँदै विद्यालयकाे लागि याे अवसर जुटाएकाेमा एन्फाप्रति आभार प्रकट गरे ।

नेपालमै पहिलो पटक नयाँ अवधारणाका साथ सम्झौता गरिएको उनले बताए । विभिन्न जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई एन्फा एकेडेमीले प्रशिक्षणमा राख्नेछ । अहिले जिल्लाहरुमा छनाैटकाे कार्य जारी छ ।  छात्रावासमा फुटबलका प्रशिक्षक वार्डेन कर्मचारी एन्फाले व्यवस्थापन गरेको छ । यसकाे लागि एन्फाले वार्षिक २६ लाख प्रदान गर्नेछ  ।

विद्यालय र एन्फा बिच भएकाे याे संझाैता ४ वर्षसम्मकाे लागि रहेकाे महासचिव राइले बताए । बागमती प्रदेश सरकारकाे आर्थिक लगानिमा ८३ लाख रुपैयाँमा बिद्यालय परिसरमा छात्रावास निर्माण गरेकाे छ । छात्रावासमा आवश्यक केही पुर्वाधार निर्माण कार्य बाँकी रहेकाेले स्थानीय सरकारकाे सहयाेगमा निर्माण पुरा गर्ने तयारी रहेकाे विव्यास अध्यक्ष ठकुरीले बताए ।

कार्यक्रममा इन्द्रसराेवर गाउँपालिका अधयक्ष देबकृष्ण पुडासैनीले खेल क्षेत्रकाे विकासकाे लागि आवश्यक समन्वय गरीने बताए ।  विद्यालयकाे प्रयासले राष्ट्रिय र अन्तरास्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सकिने भएकाेले स्थानीय सरकारले पनि याे जिम्मेवारी वहन गर्न ध्यान दिने बताए । यसैगरी वडा ३ का अध्यक्ष प्रताप भम्जनले विद्यार्थीलाई खेलाउदै र सिकाउंदै गर्ने अभ्यास सुरु भएकाे बताए । ‘फुटबल विश्वमा नै रुचाइएको खेल भएकाेले व्यक्तिव विकासको लागि पनि खेल अनिवार्य छ’ उनले भने । वडा कार्यालयले भौतिक सहयोग गर्ने भम्जनले बताए । 

खेलबाट नाम दाम इज्जत कमाउन सकिने गरि नीति निर्माणमा पनि ध्यान दिनु जरुरी भएकाे विद्यालयका प्रध्यानाध्यापक उमाकान्त चाैधरीले बताए ।  गर्मी र चिसाेकाे हिसाबले वर्षैभरी मध्यम हावा पानी हुने याे क्षेत्र प्राकृतिक र वातावरणीय हिसाबले अत्यन्तै उपयुक्त रहेकाे र काठमाण्डाैबाट एक घण्टाकाे सडक मार्गमा पर्ने भएकाले एन्फाले एकेडेमी राख्न उपयुक्त ठानेकाे राइले बताए । विद्यालयमा हाल कक्षा १ देखी १२ सम्म ४५० विद्यार्थी अध्ययनरत छन् ।