गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले बहुमतकाे सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नु भएकाे छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई ७ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नु भएकाे हाे ।

बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गर्नु भएकाे थियाे । त्यसपछि २३ फागुनमा माओवादीले उहाँलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

संवैधानिक प्रावधान अनुसार २२ चैतभित्र विश्वासको मत लिनुपर्ने भए पनि पाण्डेले विश्वासको मत पाउने सम्भावना नरहेको भन्दै बुधबार राजीनामा दिनु भएकाे हाे । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको २७, एमालेकाे २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् । सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
हेर्नुहोस् प्रदेश प्रमुख कार्यालयको सूचना