निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यकाे चुनावका लागि मतपत्र छपाई गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ । राष्ट्रिय सभा चुनावका लागि ३८ प्रकारका ६ हजार ९ सय १० थान मतपत्र छपाई गरी पठाएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।
प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।
आउँदाे फागुन २० गतेदेखि रिक्त हुने १९ वटा राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते सम्बन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा बिहान ९ देखि दिउँसाे ३ बजेसम्म मतदान हुनेछ । यस चुनावबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि फागुन २१ देखि ६ वर्षसम्म रहनेछ ।