मकवानपुर । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौँडामा माछाका भुराको माग बढेको छ । करीब पाँच दशक वर्षअघि निर्माण भएको केन्द्रमा विगतको तुलनामा माछाको भुरा उत्पादन र बिक्री बढ्दै गएको कार्यालयले जनाएको छ ।
पछिल्लो समय किशानले व्यवसायिक रुपमै माछा पालन गर्न थालेको र हेटौंडामा उत्पादित माछाका भुराहरु गुणस्तरिय भएका कारण माग बढेको कार्यालय प्रमुख सरोज यादवले जानकारी दिनुभयो । माछापालन व्यवसायमा किसानको आकर्षण बढ्दै गएका कारण भुराको माग बढेको भन्दै हेटौंडामा उत्पादित माछाका भुरा लिन भारतबाट समेत किशानहरु आउने गरेको उहाँले बताउनुभयो । तर, पूर्वाधारका कारण मागअनुसार अझै पनि भुराको उत्पादन बढाउन नसकिएको उहाँले बताउनुभयो । “नयाँ पोखरी निर्माण र भएका पोखरीको मर्मत गर्न नसक्दा अझै पनि किसानको मागअनुसार भुरा उत्पादन बढाउन सकिएको छैन ।” उहाँले भन्नुभयो ।
केन्द्रबाट प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री हुँदै आएकोमा हाल भएका पोखरी मर्मत तथा सुधार गरिएपछि यस वर्ष भने माछा र भुराको उत्पादनका केहि वृद्धि हुने उहाँले बताउनुभयो । उहाँका अनुसार यो वर्ष ह्याचरी तर्फ ४ करोड, फिङ्गर रिङ ५ लाख र फ्राई २० लाख गरि करीब ४ करोड २५ लाख माछाका भुरा उत्पादन हुने अनुमान गरिएको छ । उहाँले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निर्माणलाई निरन्तरता दिइएको समेत जानकारी दिनुभयो ।
कार्यालयको हातामा रहेको माछा फार्मबाट सात जातका विकासे माछाको भुरा बिक्री गरिन्छ । उहाँका अनुसार हाल थप दुई जातका स्थानीय तथा लोपोन्मुख सहर र गर्दीजातका रंगीन कोइकार्प माछा प्रजनन तथा बिक्रीको तयारी छ । कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तरबाट सिफारिस गरिएका स्वदेशी रहु, नैनी र माकुर माछा तथा विदेशी कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प र ग्रप्स कार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी बिक्री गर्ने गरिएको छ । केन्द्रले एक लाख भुराको दुई हजार पाँच सयमा बिक्री गर्दै आएको छ ।
काठमाडौँ तथा स्थानीय बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उद्देश्यले २०२४ सालमा स्थापीत केन्द्रले अहिले ह्याचरी, फिङ्गर र फ्राई माछाका भुरा उत्पादन र बिक्रीको कार्य गर्नुका साथै विभिन्न खोला, नदि एवम् तालतलैयाको अध्यन गर्ने र माछाका भुरा छाडेर जलिय जैबिक बिविधता संरक्षणको समेत कार्य गर्दै आएको छ । उहाँले माछा र भुरा बिक्रीबाट कार्यालयको राजस्वसमेत बढ्दै गएको बताउनुभयो । एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बंगुर पालन पनि सुरु गरिएको र जीर्ण अवस्थामा रहेका पोखरी मर्मत गरी सञ्चालनमा ल्याउने कामलाई प्राथमिक्ता दिईएको उहाँले बताउनुभयो । यस्तै मत्स्य संग्रहालय अन्तर्गत संरक्षित माछाको नमूना तथा लिभफिस म्युजियम स्थापना गरी सञ्चालन गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।
उहाँले प्राकृतिक जलाशयमा जातीय विविधतासम्बन्धी अनुसन्धानका क्रममा स्यार्फुताल, राप्ती, बागमती, सामरी, बकैया, अरुण, कोसी तथा कर्णाली नदीका साथै बेगनास ताललगायत नदी र तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख गरिएको छ । यसबाट ४५ प्रजातिका माछाका नमूना संकलन गरिनाका साथै पानीको गुणस्तरसमेत अनुसन्धान गरिएको छ । कार्यालयले जलीय विविधता एवं प्रवद्र्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम गर्नुका साथै खोला नालामा स्थानीय जातका भुरा छाड्ने, जनचेतनामूलक होर्डिङ बोर्ड, गोष्ठी सभालगायत कार्यक्रम गर्दै आएको छ । कार्यालय अन्तर्गत ४७ दशमलव नौ हेक्टर क्षेत्रफलमा माछा पोखरी छ ।
यो वर्षको माछाका भुरा बिक्री सुरु
प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौँडाले यो वर्षको माछाका भुरा बिक्रीबितरण सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको पहिलो लटको ४ लाख माछाका भुरा १२५ जना कृषकलाई बिक्री गरेको हो ।
कार्यालय प्रमुख यादवका अनुसार पहिलो लटमा कमन कार्प जातको ४ लाख हाराहारी माछाको भुराहरु बिक्री गरिएको छ । केन्द्रबाट मकवानपुर, काभ्रे, बारा पर्सा, रौतहट र सर्लाहीका किशानले माछाका भुरा खरिद गरेको उहाँले बताउनुभयो । बिक्री गरिएका माछाका भुराहरु फिङ्गर रिङ अर्थात ३५ दिनपछिको रहेको उहाँले जानकारी दिनुभयो ।