CSK celebrating win during match 1 of the Indian Premier League season 17 (IPL 2024) between Chennai Super Kings and Royal Challengers Bangalore held at the MA Chidambaram Stadium, Chennai on the 22nd March 2024. Photo by Saikat Das / Sportzpics for IPL

१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सले विजयी सुरुवात गरेको छ । १७औं संस्करणको पहिलो खेलमा सबिक बिजेता चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई ६ विकेटले पराजित गरेको हो ।

एक सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नइले १८ दशमलव चार ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

चेन्नईको जितमा ओपनरद्वय रितुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए । त्यसपछि आएका अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । त्यसैगरी शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए ।

बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले एक/एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७३ रन बनायो । बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए ।

रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । उसका लागि सबैभन्दा धेरै अनुज रावतले ४८ रन बनाउँदा दिनेश कार्तिक २८ रनमा अविजित रहे ।

चेन्नईका लागि मुस्तफिजुर रहमान एक्लैले चार विकेट लिँदा दीपक चहरले एक विकेट लिए ।

जारी प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ भने राति ७:४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ ।