file photo

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेकाहरू संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी भएको बताउनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरूसँग आज राजधानीमा भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोड जामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानुपरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा जाने निर्णय गरेकाले कसरी मेरो कदम तानाशाही हुन्छ, सांसद खरिद बिक्रीमा लागेर पदमा बसिरहन खोजेको हो र तानाशाही हुने भनी उल्टै प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरूलाई जनताले ठेगान लगाउने बताउनुभयो ।प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्तिहरूको साथमा सरकार रहेकाले उच्च मनोबलका साथ आ–आफ्नो क्षेत्रमा अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल नेत्र ज्योति संघका अध्यक्ष रमेश पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि विभेदपूर्ण व्यवहारहरूको सामना गरिरहनुपर्ने भएकाले यसको निराकरणका लागि थप अभियान चलाउनुपर्ने बताउनुभयो ।