मकवानपुर– मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सहकारी संस्थाले दाना उद्योग सञ्चालन गर्ने भएको छ । प्रदेश सरकार, गाउँपालिका र दूध संस्थाबाट शेयर जारी गरेर प्राप्त सहयोगबाट मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघले दाना उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।
मकवानपुरगढी गाउँपालिका–३ स्थित तल्लो कालिखोलामा दाना उद्योग स्थापनाको लागि बागमति प्रदेश सरकारले ३६ लाख १५ हजार, गढी गाउँपालिकाबाट ५३ लाख र शेयर जारी गरी दूध संस्थाबाट ७९ लाख २४ हजार रुपैयाँ सहयोग प्राप्त भएको संघका अध्यक्ष हरिकुमार हुमागाइँले जानकारी दिनुभयो । उद्योगबाट गाईको लागि प्लेट दाना र मास दाना र कुखुुराको लागि प्लेट दाना उत्पादन गरिने र उद्घाटनको दिन उद्योग परिक्षण गर्ने योजना रहेको उहाँले बताउनुभयो । ६ कठ्ठा क्षेत्रफलमा सञ्चालनमा आउन लागेको उद्योगको माघ २३ गते उद्घाटन गर्ने बताईएको छ । उद्योगले प्रति घण्टा २ सय बोरा दाना उत्पादन गर्ने उहाँले बताउनुभयो ।
उद्योग स्थापनाको लागि चालु आर्थिक वर्ष ०७७÷०७८ मा संघीय सरकारले ९९ सय लाख रुपैयाँ र गढी गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजित गरेको उहाँले बताउनुभयो । लागत अनुसार दानाको मूल्याङ्कन निर्माण गर्न बाँकी रहेको र दानाको मूल्याङ्कन सञ्चालक समितिको बैठकले तय गर्ने समेत उहाँले बताउनुभयो । उद्योग सञ्चालनमा आएपछि जिल्लाका किसानहरु लाभान्वित हुने उहाँको भनाइ छ । उद्योगबाट १० जनाले प्रत्यक्ष रोजगारी समेत पाउने छन् ।