मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले १७० जना करार शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । गाउँपालिकामा अवस्थित सामुदायिक विद्यालयहरुमा रिक्त हुन आउने शिक्षक दरबन्दी, राहत अनुदान कोटा, संघीय, प्रादेशिक तथा गाउँपालिका अनुदान कोटा अन्तरगत पदपूर्ति गर्ने गरि दरखास्त आव्हान गरेको हो ।
बकैया गाउँ शिक्षा समितिको बैशाख ०५ गतेको निर्णय तथा पालिकाको करार शिक्षक छनौट, कार्यविधि २०८० अनुसार प्राविदेखि माध्यमिक तहसम्म विभिन्न विषयका १७० जना शिक्षक नियुक्त गर्न लागिएको जनाएको छ । आज प्रकाशित सूचनामा योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र दरखास्त दिनु पर्ने उल्लेख छ । गाउँपालिकाले दरखास्त साथ शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, स्थायी अध्यापन प्रतिलिपि तथा कानुन बमोजिमको अन्य कागजातहरु बुझाउनुपर्ने गाउँपालिकाका प्रशासन शाखा प्रमुख मिलन दुलालले बताउनुभयो ।
