सरकारको न्यूनतम साझा कार्यक्रम र सङ्कल्प सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा पूर्वअर्थमन्त्री नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले साझा कार्यक्रम र सङ्कल्प सार्वजनिक गर्नुभएको हो ।

नागरिकमा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली नागरिकको सर्वाेपरि हितलाई केन्द्रमा राखिएको छ । आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गतिमुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने लगायतका विषय समावेश छन् । सत्तारूढ गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) समावेश छन् ।