हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष मधु अधिकारीले पार्टी अध्यक्ष पद छाडेको घोषणा गर्नुभएको छ । आज पार्टी कार्यालयमा एक कार्यक्रमका बीच पार्टीको मकवानपुर जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य पद समेत छाडेको घोषणा गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जाल मार्फत पार्टीेको जिल्ला अध्यक्ष र केन्द्रीय समिति सदस्यको पद समेत छाडेको घोषणा गर्नुभएको छ । उहाँले आफ्नो घरायसी कारण देखाउँदै अब पार्टीको कुनै पनि पदमा नरहने समेत बताउनुभएको छ । आफूले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेदेखि नै पार्टीमा नेताहरुको असहयोग रहेको भन्दै अधिकारीले गुनासो समेत गर्नुभयो । जिम्मेवारी हस्तान्तरणपछि सामाजिक सञ्जालमा जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्नुभएको छ ।

उहाँले आजै जिल्ला अध्यक्षको जिम्मेवारी पूर्व जिल्ला अध्यक्ष रामहरि न्यौपानेलाई हस्तान्तरण गर्नुभएको छ । अध्यक्षको जिम्मेवारी पाउनुभएका न्यौपानेले मकवानपुरमा पार्टीलाई बलियो बनाएर अघि बढाउन सबैको सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मकवानपुर जिल्लाबाट केन्द्रिय सदस्य मनोनित हुनुहुने राजाराम बर्तौला र बालकृष्ण कार्कीलाई सम्मान समेत गरिएको राप्रपा मकवानपुरले जनाएको छ ।