मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मकवानपुरको मनहरीमा २५६ मिटर लामो मोटरेवल पुल शिलान्यास गर्नुभएको छ । मनहरी गाउँपालिका वडा नम्बर ९ र ५ जोड्ने रजैया दरदरा मोटरेवल पुलको मुख्यमन्त्री जम्कट्टेलले सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको हो ।

पुल निर्माणका लागि प्रदेश सकारले बजेट विनियोजन गरेपनि डिपिआर, निकुञ्ज लगाएतका समस्याका कारण काम अघि बढ्न सकेको थिएन । प्रदेश सरकार गठन भए लगत्तै निर्माणको योजना अघि बढाईएर पनि लामो समयदेखि बन्न नसकेको योे पुल अब भने बन्ने भएको छ । सो क्रममा उहाँले पुल निर्माणले स्थानीयलाई आम नागरिकलाई ठुलो राहत पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विकास निर्माणका कामलाई उत्पादनसंग जोड्ने रणनीति अनुसार काम गरिरहेको बताउनुभयो । विकास निर्माणका कामलाई उत्पादनमुखी ढंगबाट अघि बढाएर आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको लक्ष्य रहको भन्दै उहाँले कृषि, पर्यटन तथा उद्यमशिलतामा भुमिका खेल्ने गरी विकास निर्माणका काम अघि बढाउने प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

प्रदेश सरकारका तर्फबाट पुल निर्माणका लागी बजेट सुनिश्चितता भएको गाँउपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । नागरिकको गुनासो र दवाव तथा सरोकारवालको पहलका बिच प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ बजेटमा उक्त पुल निर्माणका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

पुर्वाधार विकास कार्यालय चितवन मार्फत् कार्यान्वयन गरिएको उक्त पुल निर्माण योजनाका लागि २४ करोड ७ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । बिटी÷आरएस जेभी निर्माण कम्पनीले ३ वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको पुर्वधार विकाश कार्यालय चित्तवनका प्रमुख विरेन्द्र चौधरीले बताउनुभयो ।

शिलान्यास कार्यक्रम बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, पुर्व स्वास्थ्य मन्त्री बिरोध खतिवडा, प्रदेश सासंद एकलाल श्रेष्ठ, संबिधान सभा सदस्य राजाराम स्याङ्तान, मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर, निबर्तमान गाउँपालिका अध्यक्ष एकराज उप्रेती, पुल सरोकार समितीका अध्यक्ष रामप्रसाद कालाखेती लगायत मनहरी गाउँपालिका जनप्रतिनिधि, कर्मचारी एवम् स्थानीयहरुको उपस्थिती थियो ।