नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिल्ला नेतृत्व उच्च स्तरीय समझदारीका साथ चयन हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । आज एकसाथ सुरु भएको ६१ जिल्लाको जिल्ला अधिवेशनलाई एमाले केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पार्टीको वडा, पालिकादेखि दशौं महाधिवेशन सहमतिमा नेतृत्व चयन गरेको उल्लेख गर्दै जिल्ला नेतृत्व पनि सहमतिमा नै चयन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सहमतिबाटै नेतृत्व चयन गर्न र सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धामा जान आग्रह गर्नुभयो । अध्यक्ष ओलीले चुनौतीहरूको सामना गर्दै एमालेलाई प्राप्त जिम्मेवारी र दायित्व पूरा गर्न अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकलाई स्थिर र स्थायी ढङ्गले चल्न नदिई आफ्नो स्वार्थ र गुटको सङ्कीर्ण प्रवृत्तिका कारण अस्थिरतातर्फ लैजाने गम्भीर समस्या देखिँदै गएको तर्क समेत गर्नुभयो । अध्यक्ष ओलीले विरोधी शक्ति र स्वार्थ समूहले सरकार बनाउने र जनतालाई अलमल्याउने गरिरहेको भन्दै त्यस्ता चुनौतीहरूको सामना गर्न एमाले तयार रहेको दाबी गर्नुभयो ।
उहाँले पार्टीले सामाजिक न्यायसहितको समृद्ध नेपाल सुखी नेपालीको एकमात्र गन्तव्यमा पुग्ने लक्ष्य लिएकामा त्यस्तो भविष्य खतरामा नपरोस् भन्नेमा सचेत रहेको उल्लेख गर्नुभयो । एमालेले ७७ वटै जिल्लाको अधिवेशन एकसाथ गर्ने भनेपनि प्रतिकूल मौसम र तयारी नपुगेको भन्दै ६१ जिल्लाको जिल्ला अधिवेशन आज एकसाथ सुरु गरिएको थियो । एमालेको १० औँ महाधिवेशन गत मङ्सिरमा सकिए पनि जिल्ला अधिवेशन आज सुरु गरिएको हो । एमालेले जिल्ला तहमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्देशन दिएको छ । जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन समेत एमालेले सर्कुलर गरेको छ । प्रदेश सम्पर्क कमिटी र प्रदेश सङ्गठन कमिटीको अधिवेशन जिल्ला अधिवेशन सकिए लगत्तै गर्ने एमालेको तयारी छ । एमालेले प्रदेश अधिवेशन माघ ८ गते गर्ने मिति तय गरेको छ ।