नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशभरबाट सङ्कलित नमुनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको छ ।
पुस महिनामा सङ्कलित १ हजार १ सय ४६ पोजेटिभ नमुनाहरूको एस जिन स्क्रिनिंग गर्दा २ सय ५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्राद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ । सीमा नाकाहरूमा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ आएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ । विश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्याङ्कहरूलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोनका केसहरू अत्यधिक बढ्न सक्ने देखिएको छ । यो सङ्ख्या थप बढ्न सक्ने भन्दै जतिसक्दो छिटो खोप लगाउन र जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।
