कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको निधन भएको छ । रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले द्वारा जारी सूचना अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण भई रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मी मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय पुरुषको निधन भएको हो।भेन्टिलेटरमा राखेर सिकिस्त अवस्थामा उपचार भइरहेको उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । गुल्मी मदाने गाउँपालिका–६ का उनी सो अस्पतालमा एक हप्तादेखि उपचाररत थिए । उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । नेपालमा बिहिबार बिहानसम्म ४ सय ४४ जनाका कोरोना पुष्टि भएको छ भने ४५ जना उपचारपछि घर फर्किएका छन् । तीन जनाको भने मृत्यु भएको छ । यस अगाडि सिन्धुपाल्चोकमा एक र बाँकेमा एक जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।