श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएको हो ।
विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँको भनाइ छ । राष्ट्रपति भवन कब्जामा लिएका प्रदशर्नकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा नआएसम्म त्यहाँबाट नहट्ने अडान दोहोर्याएका छन् । प्रदर्शनकारीले सरकारी निवास कब्जामा लिएपछि बेपत्ता भएका राष्ट्रपति राजपाक्षे कहाँ हुनुहुन्छ भन्ने अझैसम्म थाहा छैन् । यस्तै, राष्ट्रपति निवासमा करोडौँ रुपैयाँ भेटिएको दाबी गरिएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौँ रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ । अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै यसबारे भन्न सकिने बताएका छन् ।