मकवानपुर – मकवानपुरगढी गाउँपालिकाकाे आगामी आर्थिक वर्ष ०७९/८० काे लागि ७० करोड ७७ लाख ६७ हजारको बजेट पास गरेको छ । सोमबार बसेको गाउँसभामा गाउँपालिका उपाध्यक्ष एंव बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक मानकुमारी पाख्रीन नेपालीले प्रस्तावित गर्नु भएकाे नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएकाे हाे ।
गाउँपलिकाले कुल बजेट मध्ये वडागत योजनाहरुमा ८ करोड २४ लाख, लक्षित वर्गमा ६० लाख, पालिका स्तरीय योजना तथा कार्यक्रमहरुका लागि ५ करोड ४९ लाख ५० हजार विनियोजन गरेकाे छ । यसैगरी कृषि विकास क्षेत्रमा ८० लाख, पशुपंछी क्षेत्रमा ८० लाख, शिक्षा क्षेत्रमा १ करोड ९० लाख र स्वास्थ्य क्षेत्रमा ५५ लाख रकम विनियोजन गरिएको उपाध्यक्ष पाख्रीनले बताउनुभयाे । चालु आवको आगामी आवमा सर्ने अनुमानित दायित्व रकम ७ करोड हुने बताउनुभयाे । यसैगरी गाउँपालिकालाई संघीय समपुरक अनुदान वापत ५ करोड ३० लाख प्राप्त भएको छ भने प्रदेश सशर्त र विशेष अनुदान वापत ३ करोड ४९ लाख ३८ हजार रुपैंया र प्रदेश समपुरक योजना वापत ३ करोड प्राप्त भएको उहाँले जानकारी दिनुभयाे ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९को मारबाट विस्तारै उठ्दै गरेको जनजिवीका, बढ्दो महंगी अनि गरिवीबाट आक्रान्त समुदायको जिवनस्तर सुधार गर्नेतर्फ सोही अनुरुप काम गर्ने बताउदैं उहाँले चालु आ.व. २०७८/७९ मा गाउँपालिकाले प्रक्षेपण गरेको अपेक्षाकृत आन्तरिक आम्दानी प्राप्त नहुँदा आएको दायित्व, जनताहरुका असिमित आवश्यकताहरु अनि सिमित बजेट सिमाको बीचमा रहेर पनि यथासम्भव गुणस्तरीय र जनउत्तरदायी काम गर्ने अठोट लिएको बताउनुभयाे । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको गाउँसभामा प्रस्तुत बजेट पास भएसँगै अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि पास गरिएको छ । त्यस्तै, विनियोजन विधेयक प्रस्तावलाई कार्यान्वयन गर्न बनेको कानुनको सम्बन्धमा सम्बोधन पनि पास गरिएको गाउँपािलकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयाे ।