मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरले जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलकुद महोत्सब गर्न लागिएको प्रति बिरोध जनाएको छ । बुधबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघ मकवानपुरले खेलकुद महोत्सवका नाममा व्यापार मेला गर्न लागिएको प्रति बिरोध जनाएको हो ।
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार अग्रवालले खेलकुदको नाममा व्यापार मेला हुनु स्वभाविक नभएको बताउनुभयो । उहाँले सरोकारवाला संघसंस्थाहरुलाई खेलकुदका गतिबिधीहरु गर्न र व्यापार महोत्व रोक्नका लागि आग्रह समेत गरेको भन्दै मेला नरोकिए आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो । खेलकुदको नाम जोडेर व्यापार मेला गर्दा स्थानीय व्यसायिलाई असर पर्ने उहाँले बताउनुभयो । ऐन नियमको परिधिमा रहि जसको क्षेत्र हो उसले आफ्नो क्षेत्रको विकास र विस्तारका लागि काम गर्नुपर्ने बताउनुभयो । खेलकुलले खेलकुदकै क्षेत्रमा काम गर्नुपर्ने उहाँको भनाई छ । “कि खेलकुदको मात्र महोत्सव गर्नु परयो होईन भने जसले पायो उसले मेला गरिरहने हो भने महिना महिनामा मेला गरे भै गो नि” अग्रवालले भन्नुभयो ।
अहिले बजारको अवस्था संकट ग्रस्त रहेको भन्दै बजारका व्यवसायीहरुले मेला रोक्न मउवा संघलाई आग्रह गरेपछि मउवा संघ मेलाको विपक्षमा उभिएको अध्यक्ष अग्रवालले बताउनु भयो । संघका सदस्यहरुले यो बेला मेला आयोजना गरेर बजारमा झन सुनसान बनाउन लागेको भन्दै मेला बन्द गर्न मउवा संघ मार्फत बिभिन्न संघसंस्थाहरुसँग अनुरोध गरेका छन् । अटेर गरि खेलकुदको नाममा मेला आयोजना गरिए मउवा संघले बजार बन्द देखी विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । उता खेलकुद विकास समितिको आयोजनामा हुन लागेको मेलाका लागी आयोजकले तयारी तीव्र बनाएको छ । महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न खेलकुद प्रतियोगिता हुने जनाईएको छ ।
महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतितियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा मकवानपुरमा क्रियाशील खेलकुदसँग सम्बन्धित सबै संघसंस्थाको प्रतिनिधित्व रहने बताइएको छ ।