राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ ।

संघीय संसद् सचिवालयमा पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष दाहालले राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिकालाई प्रभावकारी बनाउने बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कुराहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने, सभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउनका निम्ति सांसद, सचिवालय र कर्मचारीबीच एकता, समझदारी र विश्वासको वातावरण बनाएर अगाडी बढ्ने बताउनुभयो । 

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालले सबै दलमा आबद्ध सांसदहरूलाई साथमा लिएर राष्ट्रिय मुद्दामा अगाडी बढ्ने, संस्थाको गरिमा बढाउने, बाँकी कानुन निर्माण गर्ने र सभाका काम कारबाहीलाई व्यवहारिक बनाएर अगाडी बढ्ने समेत बताउनुभयो । 

त्यसअघि आजै राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएका दाहालले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको थियो ।