मकवानपुर । प्रदर्शनी स्थल/केन्द्र भन्नाले उत्पादन भएका वा उत्पादित चिजवस्तुको बिक्री अथवा प्रदर्शन गर्नका लागि स्थापना भएको स्थानलाई बुझाउँछ । तर, मकवानपुरको बकैया गाउँपालिकाले स्थापना गरेको कृषि प्रदर्शनी केन्द्र भने यो भन्दा भिन्न छ । गाउँपालिकाले स्थापना गरेको कृषि प्रदर्शनी केन्द्रले उत्पादन हुने वस्तुको प्रदर्शनी नभई कृिष क्षेत्रको प्रबर्धनसंगै कृषकलाई उत्पादनमा जोड्ने कार्य गर्दछ ।

गाउँपालिका भवन नजिकै स्थापना गरी सञ्चालन गरिएको बकैया कृषि प्रदर्शनी केन्द्र साच्चै नमुना योग्ग र कृषकको हितमा रहेको छ । कृषि क्षेत्रको विकास विना आर्थिक समृद्धि हासिल गर्न मुस्किल रहेको निश्कर्षसहित गाउँपालिकाले कृषि क्षेत्रको प्रबर्दन गर्ने उदेश्यका साथ कृषि प्रदर्शनी केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।

कृषकलाई पशुपालन र तरकारी खेतीमा आत्मनिर्भर र व्यवसायिक बनाउने उदेश्य लिएको पालिकाले करीब एक विगाहा जग्गा भाडामा लिएर कृषि प्रदर्शनी केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । पालिकामा कृषि तथा पशुजन्य वस्तु अन्यत्रबाट आयात भइरहेको अवस्थामा स्थानीय तहमै उत्पादन बढाएर आयात प्रतिस्थान गर्न कृषिलाई उच्च प्राथमिकता राखेर कार्यक्रम अघि बढाईएको गाउँपालिकाले जनाएको छ । नागरिकहरूको जीविकोपार्जनसँगै आर्थिक समृद्धिका लागि गाउँपालिकाले स्थानीय स्तरमा नै कृषि उत्पादन गर्ने, प्रशोधन तथा बजारीकरणका काम गर्ने गरी अघि बढेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि क्षेत्रमा अनुदानमा नभई सीपसमेत सिकाउने गाउँपालिकाको योजना रहेको बताउनुभयो ।

नमुनाका रुपमा सञ्चालित प्रदर्शनी केन्द्रले कृषकहरूलाई उन्नत जातको बिरुवा उत्पादन गरी वितरण गर्ने, प्रयोगात्मक सिप सिकाउने, नयाँ प्रविधिका बारेमा ज्ञान दिने काम गर्दछ । पालिकाले १५ लाख रुपैयाँ खर्च गरेर सञ्चालनमा ल्याएको कृषि प्रदर्शनी केन्द्रमा ३ वटा टनेललगायत खुल्ला रुपमा पनि विभिन्न प्रकारका कृषि उपजहरू उत्पादन हुने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो ।

यतीमात्र हैन गाउँपालिकाले लागत साझेदारीमा आधुनिक गाई फर्म सञ्चालनका लागि २ वटा वडामा नयाँ प्रविधिका गाई फर्म समेत सञ्चालनमा ल्याएको छ । वडा नम्बर–७ र ११ मा ५०÷५० प्रतिशत लागत साझेदारीमा गाई फर्म सञ्चालन भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहायतामा वडा नम्बर–११ मा नयाँ संरचना र प्रविधिसहितको २५ वटा गाई पाल्ने गरी फर्म सञ्चालन गरिएको उहाँले बताउनुभयो । पालिकाबाट उक्त फर्मका लागि संरचना निर्माण अन्तर्गत ५ लाख रुपैयाँ र गाई खरिदका लागि १५ लाख रुपैयाँ अनुदानको रूपमा उपलब्ध गराइएको श्रेष्ठले बताउनुभयो ।

यस्तै वडा नम्बर–७ मा विदेशबाट फर्किएको व्यक्तिहरूलाई लक्षित गरी २४ लाख रुपैयाँ लागत साझेदारीमा अनुदान उपलब्ध गराइएको छ । १२ जना विदेशबाट फर्किएका युवाहरू निर्माण गरेको कम्पनीसँग ३० वटा गाई खरिद गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम अन्तर्गत ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने संघीय र प्रदेश सरकारबाट समपूरक र विशेष अनुदान मार्फत करिब २ करोड रुपैयाँको थप बजेट कार्यान्वयनको चरणमा रहेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा नदी उकास जमिनलाई संरक्षण गरी औद्योगिक ग्राम निर्माणको कार्य अघि बढाएको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार गाउँपालिकाले ७ नम्बर वडा स्थिति हात्तिखोलाको नदी उकास क्षेत्रको जमिनलाई संरक्षण गरी कृषि औद्योगिक ग्रामको रूपमा विकास गरिरहेको छ । कृषिकहरुलाई सहुलियतमा साइलेज र दाना वितरण गर्ने र पशुपालनमा प्रोत्साहन गर्ने गरी सो क्षेत्रमा साइलेज र दाना उद्योगका लागि भौतिक संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । औद्योगिक ग्रामको घेराबारसहित २ वटा उद्योगको भौतिक संरचना निर्माणका लागि हालसम्म ५ करोड रुपैयाँ खर्च भएको श्रेष्ठले बताउनुभयो ।

गत आर्थिक वर्षमा २ वटा उद्योगको भौतिक संरचना निर्माणका लागि ३ करोड रुपैयाँको ठेक्का आह्वान गरी काम गरिएको थियो । हाल सो क्षेत्रमा साइलेज र दाना उद्योग गरी २ वटा उद्योगका लागि भौतिक संरचना सहित प्रशासनिक भवन खडा गरिएको छ । चालु आर्थिक वर्षमा भने सो उद्योगका लागि आवश्यक मेसिनरी औजारहरु खरिदका लागि ३ करोड रुपैयाँ विनियोजन गरेकोमा १ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको उहँँले बताउनुभयो । पालिकाले निकट भविष्यमा सो औद्योगिक ग्राममा कृषि औजार सामग्री उद्योग, प्राङ्गारिक मल उत्पादन उद्योग र नर्सरी स्थापना गर्ने योजना बनाएको उहाँले बताउनुभयो । व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवम् दिगो आर्थिक बृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरीबी निवारणमा योगदान पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।