मकवानपुर । हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलमा शनिबार एकदिने खाना महोत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको अतिरिक्त कार्यक्रम अन्तर्गत विद्यालयले पाक शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यका साथ सांस्कृतिक खाना महोत्सव आयोजना गरेको हो ।

विद्यार्थीहरुलाई पाक कलाको ज्ञान गराउनु, व्यवसायिक सिपको विकास गराउनु, विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध सुमधुर बनाउन कार्यक्रम प्रभावकारी भएको भन्दै विगत वर्षहरुदेखि नै फुड फेस्टिभल कार्यक्रम गरिंदै आएको विद्यालयका प्रिन्सिपल नविन केसीले जानकारी दिनुभयो । उहाँले विद्यार्थी, शिक्षक, अभिभावकको सम्बन्ध सुमधुर हुँदा सिकाई प्रकृयालाई समेत सहजता प्रदान गर्ने हुँदा तीन ओटै पक्षलाई जोडेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


कोरा किताबी ज्ञानले मात्रै विद्यार्थी सक्षम हुन नसक्ने भएकोले विद्यालयले वार्षिक कार्यतालिका अनुसार विभिन्न कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । महोत्सवमा विद्यार्थीहरुले वर्षभरि सिकेका विज्ञानका कुराहरु प्रदर्शनी स्टल साथै विद्यार्थीले आफैले बनाएका विभिन्न परिकारहरु राखिएको थियो । महोत्सवमा विद्यार्थीहरुले फापर र कोदोको परिकार, गुन्द्रक, मम, चाउमिन, सेल रोटी, अचार, पकौडा, चाट–फुल्की, चटपट, किनोमा, थुक्पा, छोला भटोरा, लस्सी, लगायतका परिकार बनाएका थिए भने आफूले बनाएका परिकारहरुको उचित मूल्य राखी विक्री वितरण समेत गरेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुको सहभागिता थियो ।