शिक्षा मानिसको लागि आधारभुत आवश्यक्ता पछिको पहिलो अपरिहार्य र अनिवार्य आवश्यक्ता भित्र पर्दछ । मानिसको व्यक्तित्व विकास तथा जीवनको तयारी गर्नुका साथै शिक्षाले नै सामाजिक तथा आर्थिक विकासको काम पनि गर्दछ ।
यसै कारण विश्वका अधिकांश मुलुकहरुले शिक्षामा आम नागरिकको पहँुच बढाउन र शिक्षालाई गुणस्तर बनाउन विविध प्रयासहरु गरिरहेका छन् । “सबैको लागि शिक्षा” र “सहस्राब्दी विकासका लक्ष्य” जस्ता अन्तर्राष्ट्रिय प्रतिबद्धता यस्ता प्रयासका उदाहरणहरु हुन् । नेपालमा पनि सोही अनुरुप विविध कार्यक्रमहरु भइरहेका छन् ।
तर, आजको हाम्रो आवश्यकता बालबालिकालाई विद्यालयमा पु¥याउनु मात्र होइन, सवै विद्यालयहरुलाई बालबालिकाको इच्छाअनुसार उपयुक्त शिक्षाको व्यवस्थापन गर्न सक्ने बनाउनु पनि हो । यसैकारण बाल अधिकार सम्बन्धी महासन्धीले पनि बालबालिकाको शिक्षा पाउने अधिकारलाई सुनिश्चित गरेको छ । सोही महासन्धीले सबै बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि विना कुनै भेदभाव गुणस्तरीय शिक्षा पाउनु पर्ने आवश्यकता पनि स्विकारेको छ । यसै अधिकारलाई सुनिश्चित गर्न नेपालको संविधान तथा शिक्षा सम्बन्धी विविध दस्तावेजहरुले समेत मार्गनिर्देश गरेका छन् ।
बालमैत्री विद्यालय
बालमैत्री विद्यालय ती हुन् जहाँ बालबालिका रमाई–रमाई विद्यालय आउँछन्, साथीभाइ र शिक्षकसँग को अन्तरक्रियामा हाँसी–खेली सिक्छन् र सिकेको कुरा व्यक्तिगत, पारिवारिक र सामाजिक व्यवहारमा उतार्छन् । विद्यालय आएका बालबालिकालाई उनीहरुको रुचि क्षमता तथा आवश्यकता अनुसारको शिक्षण÷विद्यालयलाई बालमैत्री भन्न सकिन्छ । यति मात्रै नभएर विविध कारणले विद्यालय आउन नसकेको बालबालिकालाई विद्यालयमा ल्याइ शिक्षण सिकाइ गर्नु गराउनु बालमैत्री शिक्षण÷विद्यालय हो ।
विद्यालयलाई पूर्ण रूपमा बालमैत्री बनाउनका लागि नेपाल सरकारले २०८७ सालसम्ममा सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्य राखेको छ । विभिन्न ५१ वटा सूचक पूरा भएपछि पालिकाले आफूलाई बालमैत्री घोषणा गर्न पाउने व्यवस्था रहेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा बालमैत्री विद्यालयका निर्देशक सिद्धान्तहरू राखिएको छ । जसमा भेदभाव गर्न नपाउने, बालबालिकाको सर्वोत्तम हितलाई जोड दिने र उनीहरूको सर्वाङ्गीण विकास हुने कार्यक्रम तय गर्ने विषयलाई धेरै महत्व दिएको छ । बालबालिकाहरूका लागि गरिने, उनीहरूसँग गरिने र उनीहरूद्वारा गराइने सम्पूर्ण व्यवस्थापन, व्यवहार र क्रियाकलापहरू बालबालिका अनुकूल र उनीहरूको हितैहितमा हुनसक्यो भने मात्रै ‘बालमैत्री’ हुन्छ ।
बालमैत्री विद्यालयको अवधारणा
नेपालमा शिक्षाको पहुँच बढाउन र शिक्षालाई गुणस्तर बनाउन विभिन्न प्रयासहरु हुँदै आइरहेका छन् । यीमध्ये बालमैत्री विद्यालयको अवधारणा पनि एक हो । यस अवधारणाले विद्यालयको न्यूनतम र अपेक्षित मापदण्डहरु के के हुन् र विद्यालय विकासमा क–कसले कस्तो भूमिका खेल्ने भन्ने कुरा दिएको छ । यस्ता कार्यहरुबाट अभिभावकहरु बालबालिकाको पढाइ प्रति चासो राख्ने, समुदायले विद्यालय विकासमा महत्वपूर्ण भूमिका खेल्ने र विद्यालयले दिनानुदिन आफ्नो स्तर बढाउँदै लाने कुराको आशा गरिएको छ ।
विद्यालयलाई पूर्ण रूपमा बालमैत्री बनाउनका लागि ५१ वटा सूचकमा ८० अंक प्राप्त गरेको हुनु पर्दछ । नेपाल सरकारले गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय प्रारूप २०६७ जारी गरी लागू गरेको छ । भने, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा बालमैत्री विद्यालयका निर्देशक सिद्धान्तहरू राखिएको छ । जसमा विद्यालयको भौतिक अवस्था, लैङ्गिक पक्ष, बालबालिका, परिवार र समुदायको सहभागिता जस्ता विषयलाई बालमैत्री विद्यालयका आधार मानिएको छ । निर्देशिकाले निर्देशक सिद्धान्तका रूपमा गैरविभेदीकरण, बालबालिकाको सर्वोत्तम हित, बालबालिकाको सर्वाङ्गीण विकास, बालबालिकाको सहभागिता र विचारको सम्मान, सन्निकटताको सिद्धान्त, समावेशीकरणको सिद्धान्त र समुदायमा आधारित विकासको सिद्धान्तलाई अघि सारेको छ ।
बालमैत्री विद्यालयको अवधारणा कार्यान्वयन गर्दा विद्यालयहरूमा निम्न कुराहरू न्यूनतम रूपमा पुरा भएको हुनपर्दछ ।
विद्यालयको भौतिक पूर्वाधारः घामपानी तथा बाहिरी कुरा बाट सुरक्षा दिनसक्ने कक्षाकोठा, फर्निचर, शौचालय, खाननेपानी, खेलमैदान, पुस्तकालय, कार्यालय कोठा, सूचनापाटी र फूलबारी,
विद्यालयको वातावरणः भौतिक पक्षबाट सुरक्षित तथा संवेगात्मक पक्षबाट संरक्षित वातावरण, सफा चर्पीको प्रयोग गर्ने सुविधा, सफा खाननेपानीको व्यवस्था र उपयोगको अवसर, विद्यालय हाता तथा कक्षाकोठामा नियमित सफाइको व्यवस्था, विद्यालयमा भएका भौतिक सामान तथा सुविधाहरूको प्रयोगमा सबैको पहुँच तथा समान अवसर र सबै पक्षबाट विद्यालयका नियमको पालना सुनिश्चित,
शिक्षण र सिकाइ सम्बन्धी क्रियाकलाप ः विद्यालयको सुधार योजना तर्जुमा, विद्यालयको मूल्याङ्कन, निर्णय प्रक्रिया, समुदायसँग सम्बन्धित सामाजिक कार्य, अतिरिक्त क्रियाकलापहरूको सञ्चालन, नीतिनिर्माण र विद्यालयको भौतिक विकासमा समेत बालबालिकाको अनिवार्य सहभागिता,
विद्यालयको मनो–सामाजिक वातावरणः बालमैत्री विद्यालयको अवधारणा कार्यान्वयन गर्दा न्युनतम रुपमा पुरा हुनै पर्ने अर्को पक्ष विद्यालयको मनो–सामाजिक वातावरण हो । जसमा विद्यालयमा शिक्षक–विद्यार्थी, विद्यार्थी–विद्यार्थी तथा शिक्षक–समुदाय÷अभिभावक बीचको सम्बन्ध, उनिहरुको व्यवहार र त्यसको प्रयोग, विद्यार्थीको रुचि र क्षमता अनुसारको सिकाई, विद्यालयमा सबै पक्षमा पारदर्शिता एवं डर, त्रास र भयबाट मुक्त वातावरण, स्वयम् जागृत हुने वातावरण र सिर्जना एवं विचार आदानप्रदानको अवसर, शिक्षक पेशागत रूपमा प्रतिबद्ध र लगनशील, आफ्नो विषयमा दक्ष, सकारात्मक सोचयुक्त, स्वास्थ्य तथा अन्य सुविधा विद्यालयमा प्राथमिक उपचार बाकस र उपचार सामग्रीहरू अद्यावधिक राख्ने निश्चित प्रक्रिया, नियमित खोप सेवा र स्वास्थ्य परीक्षणको सुविधा, व्यक्तिगत, पारिवारिक र वातावरणीय सरसफाईमा विद्यार्थीसँग सहकार्य गर्ने संस्कार हुनुपर्दछ ।
अब कुरा गरौं बालमैत्री विद्यालय भित्रको भ्रम र यथार्थ, आजकल विद्यालयहरुले विद्यार्थी संख्या बढाउन बालमैत्री, व्यावहारिक, जीवनोपयोगी, गुणस्तरीय शिक्षा भन्ने शव्दावलीको व्यापक प्रयोग गर्ने गरेका छन् । तर यी शब्दावलीको मर्म विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायतका सरोकारवालाहरूले गरेका छन् त ? भन्ने विषय निकै महत्वपूर्ण छ ।
वास्तवमा यी शब्दावली र व्यवहारमा कतिको भिन्नता छ भन्ने कुराले बालमैत्री विद्यालयको निक्र्यौल गर्दछ । बालबालिकाहरूका लागि गरिने, उनीहरूसँग गरिने र उनीहरूद्वारा गराइने सम्पूर्ण व्यवस्थापन, व्यवहार र क्रियाकलापहरू बालबालिका अनुकूल र उनीहरूको हितैहितमा हुनसक्यो भने ‘बालमैत्री’ हुन्छ । बालमैत्री हुनको लागि बालबालिकाको अनुकूल भनेको बालबालिकाको व्यक्तिगत क्षमता अनुकूलको, आवश्यकता अनुकूलको, रुचि अनुकूलको, बालस्वभाव अनुकूलकोे भनिएको हो ।
हुर्कंदै गरेका बालबालिकाको उमेर अनुसारको शारीरिक र बौद्धिक क्षमता हुन्छ । ती क्षमता अनुकूलका व्यवहार तथा सिकाइ क्रियाकलापहरू भएनन् भने बालमैत्री भएन । यस्तै उमेर र परिपक्वता अनुसारको भौतिक तथा शैक्षिक व्यवस्थापन र सिकाइ क्रियाकलाप नगराउने विद्यालय पनि बालमैत्री होइनन् ।
यस्तै बालबालिकाका शारीरिक आवश्यकता, सुरक्षा आवश्यकता, सामाजिक आवश्यकता, आत्म गौरवका आवश्यकता लगायत विभिन्न आवश्यकता हुन्छन् । बालबालिकाहरू विद्यालयमा रहँदा यी आवश्यकताको सम्बोधन हुने वातावरण र अवस्था बालमैत्री विद्यालयको एउटा लक्षण हो । भोक लाग्दा खान पाउने, तिर्खा लाग्दा पानी पिउन सक्ने व्यवस्था, दिसा–पिसाब लाग्दा सहज शौचालयको उपलब्धता, खेल खेल्न पाउनु आदि शारीरिक आवश्यकता हुन् । सानो कक्षामा निद्रा लाग्दा सुत्न पाउने, बिसन्चो भएमा आराम गर्न पाउने व्यवस्था बालबालिकाको आवश्यकता अनुकूल हुन् । यस्तो व्यवस्थाले बालमैत्री विद्यालय बन्न योगदान गर्छ ।
विद्यालयमा कुनै असुरक्षा अवस्था नभएको, दुर्घटना वा कुनै चोटपटक लाग्ने, विद्यार्थीको कुनै सामान हराउने, कुटपिट, गालीगलौज गर्ने अवस्था नभएर बालबालिकाले ढुक्क भई सुरक्षित महसूस गर्ने निर्भय वातावरण हुनु बालमैत्री विद्यालयको अर्को लक्षण हो । साना बालबालिकालाई निद्राबाटै झक्झकाएर उठाउनु, सबेरै रुचि नहुँदै खानेकुरा कोच्याउनु, घिसार्दै स्कूल बस आउने ठाउँसम्म पु¥याउनु, आवश्यक्ता भन्दा बढी पाठ्यपुस्तक र गृहकार्य दिनु, धूलो, धुवाँ, गर्मीमा उसिन्दै बसमा हल्लाउँदै ठोक्काउँदै, ट्राफिक जाममा फस्दै डेढ दुई घन्टा लगाएर स्कूल ओसार–पसार गर्ने व्यवहार बालमैत्री हैनन् । यस्तो व्यवस्थापनले बालबालिकालाई स्वस्थ मनोसामाजिक रूपमा हुर्कन र बढ्न गम्भीर बाधा गरिरहेको हुन्छ ।
एकआपसमा घुलमिल हुने, समूहमा रहेर काम गर्ने, जोडीमा काम गर्ने, एक अर्कोलाई सहयोग गर्ने, सहकार्यबाट कुनै काम र समस्या समाधान गर्ने जस्ता क्रियाकलाप बालबालिकाका सामाजिक आवश्यकता हुन् । बालबालिकाहरूबीच हुने गतिविधि पर्याप्त मात्रामा सञ्चालन हुने कक्षा र विद्यालयलाई बालमैत्री लक्षण भएको विद्यालय मान्न सकिन्छ । यसको विपरीत कक्षामा शिक्षकतर्फ मात्र फर्केर बस्नुपर्ने, शिक्षकले मात्र सिकाउने, घरमा व्यक्तिगत रूपमा ट्यूसन पढ्न पढाउन सल्लाह दिने, बाहिर कोचिङ कक्षा चलाउने र घर–घरमा गएर व्यक्तिगत ट्यूसन पढाउने शिक्षक भएको विद्यालय बालमैत्री होइन ।
विद्यालय बालबालिकाहरू रमाई–रमाई आउने खालको हुनुपर्दछ । दिनभर खुशी रहने हुनुपर्दछ । आफ्नो परिचयप्रति, उपस्थितिप्रति र आफ्ना शिक्षक, साथीहरू र समग्र विद्यालयप्रति गर्वको अनुभूति हुने हुनुपर्दछ । भाषा, जाति, धर्म, लिङ्ग, भेषभूषा, रंग, शारीरिक बनावट वा अपाङ्गताको कारणले कुनै भेदभाव र हेलाँहोचो हुन नपर्ने बरू आफ्ना यस्ता मौलिकताप्रति गर्व गराउने वातावरण हुनु बालमैत्री विद्यालयको लक्षण हो । यस्तो वातावरणले बालबालिकाको आत्मगौरवको आवश्यकता सम्बोधन भइरहेको हुन्छ ।
बालबालिकाको रुचि र बालस्वभावको कदर गरी तदनुरूपको व्यवहार र सिकाइ क्रियाकलाप सञ्चालन हुनु पनि बालमैत्री विद्यालयको लक्षण हो । बालबालिकाका रुचि र स्वभाव कस्ता–कस्ता हुन्छन् भन्ने कुरा शिक्षकहरूले आफ्नो अनुभव र बालमनोविज्ञानको अध्ययनबाट थाहा पाउन सक्छन् । साथै, खास प्रकारका रुचि र स्वभाव भएका बालबालिकालाई उनीहरूका रुचि र स्वभाव अनुकूल हुने गरी कसरी सिकाउन सकिन्छ भन्ने कुरा शिक्षण विधिको अध्ययन र अभ्यासबाट जान्न सकिन्छ ।
विद्यार्थीले खेल्न, घुम्न, डुल्न, भिडियो हेर्न, चित्र हेर्न र कोर्न, गीत गाउन र नाँच्न, उफ्रन, दगुर्न मन पराउँछन् । बालबालिकालाई यस्ता काम गर्न नदिई कुनै शिक्षकले पाठ्यपुस्तकका विषयवस्तु मात्र सुनाउने, लेखाउने, कण्ठ गराउने काम गराउँछन् भने ती बालमैत्री शिक्षक होइनन् । यसको विपरीत खेल खेल्न चाहने बालस्वभावको कदर गर्दै आफूले सिकाउनुपर्ने विषयवस्तुलाई खेलमा ढालेर सिकाइ क्रियाकलाप गराउने शिक्षक बालमैत्री शिक्षक हुन् । कुनै विद्यालयका सबै शिक्षकले विषयवस्तु सिकाउन, खेल खेलाउँछन्, चित्र र चलचित्र देखाउँछन्, अभिनय, नाटक, भूमिका निर्वाह गराउँछन्, काम दिएर भ्रमणमा पठाउँछन्, समूह–समूह बनाएर कामको जिम्मा दिन्छन् भने त्यो विद्यालय बालमैत्री हो । अन्यथा विद्यालयलाई बालमैत्री भन्न सकिदैन÷हुँदैन ।