हेटाैंडा । जिल्ला अदालत मकवानपुरको नवनिर्मित ७१ कोठे भवनको उद्घाटन गरिएकाे छ । हेटौंडा उपमहानगरपलिका वडा नम्बर–२ मा नवनिर्मित भवनको सोमवार प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्नु भएकाे हाे ।
भनवको उद्घाटन गर्दै प्रधानन्याधीश श्रेष्ठले न्यायपालिकालाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयाे । उहाँले नेपालको संविधानले न्यायपालिकालाई नागरिकको हक अधिकारको संरक्षण र विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्ने दायित्व सुम्पेको बताउनुभयाे ।
प्रधानन्याधीश श्रेष्ठले संविधानले प्रदान गरेको भुमिका र न्यायालय प्रतिको जनताको अपेक्षालाई पुरा गर्ने तर्फ सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिदै सुशासन, जवाफदेहिता र उत्तरदायित्व लगायत न्यायिक मुल्य मान्यताको प्रवद्र्धन गर्ने विषय चुनौतीपूर्ण रहेको जिकिर गर्नुभयाे । सेवाग्राहीको अपेक्षा अनुरुपको काम कारवाहीबाट मात्रै अदालतप्रतिको विश्वासलाई बढाउन सकिने प्रधानन्यायधिश श्रेष्ठको भनाइ थियाे ।
प्रधानन्यायधीश श्रेष्ठले न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना निर्माणको प्रक्रियालाई अघि बढाएको दाबी समेत गर्नुभयाे । उहाँले योजनाबद्ध सुधारको प्रक्रियालाई न्यायपालिकाले आत्मसात गर्दै आएको बताउनुभयाे ।
प्रधानन्यायधीश श्रेष्ठले जिल्ला अदालतहरुमा पनि मुद्दाको पेशी तोक्ने सन्दर्भमा छिट्टै स्वचालित पद्धति लागु गरिने उल्लेख गर्नुभयाे । मुद्दाको अनलाइन रजिष्ट्रेशन कार्य अन्तिम चरणमा रहेको समेत बताउँदै श्रेष्ठले आमनागरिकहरुको अपेक्षा प्रति न्यायपालिका संवेदनशील रहेको पनि उल्लेख गर्नुभयाे ।
प्रधानन्यायधीश श्रेष्ठले नवनिर्मित सुविधा सम्पन्न भवनबाट सम्पादन हुने काम कारवाहीमा थप प्रभावकारीत आउने समेत विश्वास व्यक्त गर्नुभयाे । नवसिर्जनशिल/स्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । तर मूल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।