हेटाैंडा । मकवानपुरमा नेपाल मगर संघकाे स्थापना दिवस मनाइएकाे छ । नेपाल मगर संघको प्रथम महाधिवेशन भएको ४१ वर्ष पुरा भएर ४२औँ वर्ष प्रवेशका अवसरमा मंगलबार दिवस मनाइएको हाे ।
हेटौँडाको बुद्धचोकमा ठूलो संख्यामा भेला भएर मगर समुदायले र्‍यालीसहित नाचगान गरेर दिवस मनाएका हुन । हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा सांस्कृतिक झाँकी र जातीय भेषभूषामा सजिएर मगर समुदायले ४२औँ मगर दिवस मनाए । दिवसका अवरमा साँस्कृतिक कार्यक्रम तथा फुड फेस्टिभल कार्यक्रम पनि आयोजना गरिएको थियो ।
आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको समुदाय मगर हो । मगर संघ स्थापनाको सम्मानमा मगर समुदायले परम्परागत भेषभुषासहितको र्‍याली प्रदर्शनी, सोरठी, कौडा, सालैजो र घाटु नाचका साथै मगर परिकार बिक्री तथा प्रदर्शनी गरिनुका साथै सांस्कृतिक कार्यक्रम गरेका थिए । मकवानपुर जिल्लामा १६ हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगरले जानकारी दिनुभयाे ।