मकवानपुर । नेपाल एकीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने ऐतिहासिक मकवानपुर गढीमा आज २६१औँ विजय उत्सव मनाइएको छ । साँढे दुई सय वर्षअघि यही स्थानबाट अङ्ग्रेजको फौजलाई गोर्खाली फौजले पराजित गरेको सम्झनामा हरेक वर्ष माघ १० गते विजय उत्सव मनाईने गरिएको छ । मकवानपुरगढी गाउँपालिका २ नम्बर वडाको आयोजनामा विजय उत्सव मनाइएको हो ।
सेनवंशी मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेनले मकवानपुर गढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइ हारेपछि बङ्गालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न पुगेका थिए । नबाव अलीको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुर गढीमा विक्रम सम्वत १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।
मकवानपुर गढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दह चोकबाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएकाले सोही दिन जीत हासिल गरिएकोले विजय उत्सव मनाउने गरिएको हो ।
पृथ्वीनारायण शाहले त्यति बेला श्रीनाथ गण, सवुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिवक्स गण गठन गरेका थिए । बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब १७ किमी पूर्वमा मकवानपुर गढी गाउँपालिका–२ मा गढी दरबार क्षेत्र रहेको छ ।
विसं १६१० मा सेन वंशीय राजाको शासनकालमा गढी निर्माण भएको इतिहासमा उल्लेख रहेको छ । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो । करिब १३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो गढीको रुपमा चिनिन्छ ।
वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रीनको सभाध्यक्षता एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेशका पूर्व स्वास्थ्य मन्त्री नीमा लामा, गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, मध्यपृतना हेटौँडाका उपरथि प्रदीप जंग केसी, गोरख बहादुर गणका गणपति प्रमुख सेनानी निरन्जन धामीलगायतको आतिथ्यता थियो । कार्यक्रममा मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष वकीलराज बानियाँले नेपालको एकीकरण, पृथ्वीनारायण शाह र समग्र मकवानपुरगढी दरवारको इतिहास र अहिलेको अवस्थाबारे चर्चा गर्नुभएको थियो ।