हेटाैंडा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नागरिकमा साबुन पानीले हात धुने बानीको विकास नभएसम्म कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सम्भव नहुने जनाएको छ । मन्त्रालयको हिजोको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सबैमा साबुन पानीले हात धुने बानीको विकास गर्नु कोरोना भाइरस लगायतका सरूवा रोगबाट बच्ने एकमात्र उपाय भएको बताउनुभयो । साबुन पानीले हात धुने बानीले निमोनिया, झडापखाला तथा श्वासप्रश्वास संगं सम्वन्धित अन्य सरूवा रोगबाट पनि बच्न सकिने प्रवक्ता प्रा। डा। गौतमले बताउनुभयो ।
हात कसरी धुने ?
सकेसम्म साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुनुपर्छ । हातमा धेरै नै फोहर भएको छ भने ४० सेकेण्डसम्म नै धुनुपर्छ । साबुन पानी नभएको अवस्थामा भने पूरै हात भिज्ने गरी गुणस्तरीय स्यानिटाइजर दल्नुपर्छ । हात धेरै फोहर छैन, स्यानिटाइजर पनि छैन भने सफा पानीले मात्रै भए पनि हात धुन सकिने खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताउनुभयो । उहाँका अनुसार सफा पानीले मात्रै हात धुँदा पनि ८० प्रतिशत किटाणु नष्ट भएर जान्छ ।
यस्तै खरानी पानीले पनि मिचिमिची हात धोए किटाणु नष्ट हुने उहाँले बताउनुभयो । एक व्यक्तिले एक पटक हात धुँदा आधादेखि दुई लिटरसम्मको पानी प्रयोग गर्नु पर्ने खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण सर्नुमा हात पहिलो माध्यम बन्ने भएकाले नाक, मुख छुनुअघि हातलाई सफा गर्नुपर्छ । यस्तै हात धोइसकेपछि पनि यसलाई तौलिया, हावामा सुकाएर वा पेपरले राम्ररी पुछेर सुख्खा बनाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको सुझाव छ ।