हेटौंडा÷नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका समितिले तीन जना नगर सचिलाय सदस्यलाई कारबाही गरेको छ । यही जेठ २० र २१ गते बसेको बैठकले पार्टीको बिधान बिपरित दोस्रो स्थानीय तह निर्वाचनमा गतिबिधि गरेको भन्दै नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरकमिटि सचिवालय सदस्य तथा हेटौंडा वडा नम्बर १७ वडा समितिका इन्चार्ज शंकर बहादुर राउत र सचिवालय सदस्य तथा वडा नम्बर १० समितिका इन्चार्ज सन्तोष न्यौपानेलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधरण सदस्य नरहनेगरी कारबाही गरेको हो ।
साथै नगर सचिवालय सदस्य गिता कार्कील पार्टी परित्याग गरेकोले साधरण सदस्य नरहनेगरी हटाइएको नगर कमिटि अध्यक्ष तिर्थ थापा मगरले बताए । बैठकले नगर समिति सचिवालय सदस्य तीन जना, नगर सदस्य कमरेड दुई जना र वडा समितिका अध्यक्ष एकजनालाई लिखित तथा मौखिक स्पष्टिकरण सोध्ने निर्णय गरेको उनले जानकारी दिए । हेटौंडा १७ नम्बर वडा समितिको इन्चार्ज प्रदिप अर्याल र १० नम्बर वडा समितिको इन्चार्जमा ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी दिइएको मगरले बताए । बैठकमा स्थानीय तह दोस्रो निर्वाचन सम्बन्धि समिक्षा गरिएको थियो । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर समितिका सदस्यहरु, वडा समितिका इन्चार्ज, सह इन्चार्ज, वडा अध्यक्ष तथा सचिवहरुले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह दोस्रो निर्वाचनमा नगर भित्रको अ–आफ्नो कार्यक्षेत्रको संगठनात्मक गतिबिधि, चुनावी गतिबिधि, गठबन्धनको नीति, समस्या, चुनौती लगायत सवल र दुर्वल पक्षको विषयमा समिक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । बैठकले सबै वडा समितिको समिक्षात्मक बैठक मिति २०७९ जेठ २७ गतेसम्म बसिसक्ने निर्णय गरेको छ ।
स्थानीय तह दोस्रो निर्वाचन हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत गरिएको नगर अध्यक्ष मगरले बताए । नगर समितिका अध्यक्ष मगरको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रमिला पुलामीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा जिल्ला समन्वय समितिका संयोजक सर्केस घलान (मधु), सचिव भीम पाख्रिन, हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवके राई, जिल्ला समन्वय समितिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।