उच्च अदालत पाटनले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका सबैलाई सामेल गराउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले कोरियन भाषाका लागि आवेदन दिन इच्छुक सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश दिएको हो ।
तर्कबहादुर पलसहितले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै अदालतले निवेदक सरह समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई पुस २ गतेदेखि खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउन र परीक्षा आवेदन फाराम भर्न दिन आदेश दिएको छ ।
अदालतको यो आदेशसँगै इच्छुकहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन पाउनेछन् । रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालयले सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन नपाउने व्यवस्था गरेको थियो ।
त्यस विरुद्धमा सुरज पाठकसहित १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले आवेदनका हकमा आवेदन प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । सोही आधारमा १८ जनाले आज आवेदन फाराम भनेका थिए भने अन्यले फारम भर्न नपाएपछि आवेदनका लागि इपिएस शाखा ग्वार्काे पुगेकाहरू आन्दोलनमा उत्रिएका थिए ।
सोही आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । आगजनी र प्रहरीसँगको झडपमा घाइते भएकामध्ये उपचारका क्रममा २ जनाको मृत्यु समेत भएको छ ।