हेटाैंडा– नेपालमा पछिल्लाे २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । एघार हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ७०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २६४ जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय ६४ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको गाैतमले बताउनुभयाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गरिएको थियो, त्यस क्रममा काठमाडौं उपत्यकामा मात्र २०० जना संक्रमित भेटिएका छन् । जसमध्ये १७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन् ।
त्यस्तै सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१÷३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१÷२१ जना, सप्तरी, कास्की र दैलेखका १९÷१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६÷१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै तेह्रथुम र मोरङमका ९÷९ जना, बारा र बाग्लुङका ८÷८ जना, उपयपुर र दाङका ४÷४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३÷३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २र२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १र१ जनामा संक्रमण देखिएको छ ।