मकवानपुर । हेटौडामा माघ १२ गते दाेस्राे बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयकाे आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको हाे ।
सामुदायिक तथा संस्थागत विद्यालयहरुबिच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएकाे मंगलबार हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे । हेटौडा वडा अध्यक्ष नविन सिग्देलका अनुसार वडा भरीका संस्थागत तथा सामुदायिक गरी ८ वटा विद्यालयहरुको सहभागीतामा शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हाे ।
वडाभित्रका संस्थागत र सामुदायिक विद्यालयहरुबीच अझ बढी भाइचाराको सम्बन्ध स्थापित गर्ने विद्यार्थीकाे प्रतिभाकाे आदान प्रदानकाे उद्देश्यले कार्यक्रम गर्न लागिएकाे श्रमिक माविका प्रध्यानाध्यापक तथा शैक्षिक गुण्स्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहालले बताउनुभयाे । कार्यक्रममा प्रत्येक विद्यालयहरुबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसँग सम्बन्धित सामग्रीहरुको स्टल राखिने छ । यस्तै मौलिक नेपाली गित तथा विभिन्न जातजाती नाँच र भेषभुषा झल्काउने गरी प्रतियोगितात्मक सामूहिक नृत्य र एकल गायन प्रस्तुति गरिने दाहलले जानकारी दिए । वडाभरीका सबै विद्यालयका कक्षा ६ देखि माथिका विद्यार्थीहरुले गरेका प्रतिभा प्रदर्शनीकाे विद्यार्थी, शिक्षक तथा अभिभावकलगायत गरी करिब १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।
गत वर्ष पनि वडा कार्यालयले सुधार समितिसँगकाे समन्वयमा बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएकाे थियाे । माघ १२ गते हुने दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको उद्देश्य प्रस्ट्याउदै अध्यक्ष सिग्देलले आफूहरु शैक्षिक गुणस्तर सुधार अभियान निरन्तर लागिपरेको दावी गरे । ‘संस्थागत र सामुदायिक विद्यालयहरुबीच समन्वयन र प्रतिस्पर्धा दुवै हुनुपर्छ’ उनले भने ‘सरोकारवालाहरुले बजेट विनियोजनको पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्छ ।’ बृहत शैक्षिक प्रदर्शनी पछि वडाले वडा स्तरीय खेलकुद कार्यक्रम, जिल्ला स्तरीय शिक्षक भलिबल कार्यक्रम, इसीडी शैक्षिक सामाग्री निर्माण तालिम, शिक्षक, विद्यार्थी तथा अभिभावक सम्मान लगायतका कार्यक्रमहरुको आयोजना गर्ने सिग्देलले जानकारी दिए ।
उक्त शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रममा ५ लाख रुपैँया खर्च हुने अनुमान गरिएकाे छ। शैक्षिक क्षेत्रको विकासमा लम्किरहेको मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा मात्रै झण्डै १६ हजार विद्यार्थीहरु छन् । हेटौंडाकाे याे वडामा मात्रै ५ वटा संस्थागत गरी ८ वटा स्कुलहरु छन् । गतबर्ष पनि सामुदायिक तथा संस्थागत विद्यालयबीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले ४ नम्बर वडा कार्यालयले शैक्षिक मेला आयोजनामा गरेको थियो ।
प्रदर्शनी अन्तरगत नृत्य र शैक्षिक समाग्री प्रदर्शनीमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने छ । नृत्य र शैक्षिक सामग्री प्रदर्शनीमा प्रथम हुने प्रत्येक समूहलाई १० /१० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ । यसैगरी प्रतिस्पर्धाका विधागत प्रथम हुने सहयाेग शिक्षकलाई समेत ३ हजार नगदले सम्मान गरिनेछ । यसैगरी द्वितीय हुने प्रत्येक समूहले ७/७ हजार तथा द्वितीय हुने सहयाेग शिक्षकलाई २ हजार नगदद्वारा सम्मानित गरिने आयाेजकले जानकारी दिएकाे छ । यस्तै तृतीय हुने प्रत्येक समूहले ५/५ हजार तथा तृतीय हुने सहयाेग शिक्षकलाई १ हजार नगदद्वारा सम्मानित गरिनेछ ।
गायन तर्फ प्रथम स्थान प्राप्त गर्ने १ जनालाई ५ हजार, प्रथम सहयाेग शिक्षकलाई ३ हजार द्वितीय हुनेले ४ हजार द्वितीय सहयाेग शिक्षकले २ हजार तथा तृतीय हुनेले ३ हजार र सहयोग शिक्षकले १ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । पत्रकार भेटघाटमा वडाअध्यक्ष नवीन सिग्देल, शैक्षिक गुण्स्तर सुधार समितिका अध्यक्ष दाहाल, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा–४ का वडा सदस्य जनरल श्रेष्ठ, वडा सचिव पुष्पराज पौडेल, श्रमिक माविका व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की, भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल, आधुनिक माविका प्रधानाध्यापक रामसागर गुरागाईं, प्याप्सन अध्यक्ष विनाेद सुवेदीलगायतकाे उपस्थिति रहेको थियो ।