फाइल फाेटाे

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि समति गठन गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा आईतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि ३ सदस्य समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेशका समस्या ग्रस्त सहकारीहरुको व्यवस्थापनका लागि काठमाडौंका प्रशान्त अधिकारीको संयोजकत्वमा काठमाडौंका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेको तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रदेशका विभिन्न स्थानमा कारागार र प्रहरी भवन संरचना सुधारका लागि ५ करोड बजेट ५६ लाख रुपैयाँ खर्च गर्न अख्तियारी प्रदान गर्ने, र प्रदेश सभा सदस्य गीता गुरुङका लागि हेयरिङ मेसिन खरिद गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको श्रेष्ठले बताउनुभयो ।
यस्तै आईतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले विभिन्न ७ वटा कार्यविधि स्वीकृत गरेको छ । बैठकले गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निशुल्क हवाइ उद्धार सेवा सम्वन्धि कार्यविधि २०८० र दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत गरेको श्रेष्ठले बताउनुभयो ।
यस्तै बैठकले द्वन्द्व पीडितका लागि सवलिकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८०, एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८०, जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सन्चालन सम्वन्धि कार्यविधि २०८०, एक विद्यालय एक नर्स कार्यक्रम सन्चालन (दोश्रो संसोधन) कार्यविधि २०८०, स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।