प्रमुख प्रतिपक्षी र अन्य केही साना दलको बहिष्कारका बीच बंगलादेशमा आज सम्पन्न आमनिर्वाचनमा न्यून मतदान भएको छ । निर्वाचन आयोगले जनाएअनुसार जम्मा ४० प्रतिशत मत खसेको छ । बंगलादेशमा करिब १२ करोड मतदाता छन् । प्रतिपक्षिविहीन र न्यून मतदान भएकाले निर्वाचनको स्वच्छता र विश्वसनीयतामाथि नै प्रश्न उब्जिएको छ । यसअघि २०१८ मा भएको आमनिर्वाचनमा ८० प्रतिशतभन्दा बढी मत खसेको थियो ।
प्रतिपक्षी दल बंगलादेश नेशनालिस्ट पार्टी बीएनपीले संसदीय निर्वाचन बहिष्कार गरेको यो पहिलोपटक भने होइन । सन् २०१४ मा भएको आमनिर्वाचन पनि उसले बहिष्कार गरेको थियो । प्रमुख प्रतिपक्षी दल बीएनपीले निर्वाचन निष्पक्ष हुने प्रत्याभूति नभएको भन्दै निर्वाचन बहिष्कार गरेको हो ।
बीएनपीले प्रधानमन्त्री हसिनाले राजीनामा दिएर निर्वाचन प्रयोजनका लागि काम-चलाउन सरकार गठन गरिनुपर्ने माग गर्दै आएको थियो । बीएनपीले मतदाताहरुलाई मतदान बहिष्कार गर्न आहृवान गर्नुका साथै शनिबारबाट लागु हुने गरी दुई दिनका लागि देशभर आमहड्तालको आहृवान गरेको थियो ।
मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ । सत्तारुढ दल अवामी लिगकी अध्यक्ष तथा प्रधानमन्त्री शेख हसिनाको दलले अत्यधिक स्थानमा विजय प्राप्त गर्ने निश्चित प्राय: छ । त्यसो भएसँगै प्रधानमन्त्री शेख हसिनाले निरन्तर चौथो कार्यकाल पनि सत्ताको बागडोर सम्हाल्नेछिन् । उनी सन् २००९ देखि बंगलादेशको प्रधानमन्त्री रहँदै आएकी छन् ।
दुई शक्तिशाली महिला नेतृहरु अवामी लिगकी अध्यक्ष प्रधानमन्त्री शेख हसिना र विपक्षी दल बीएनपीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाबीचको वैमनस्यताले बंगलादेशको राजनीति अस्थिर रहँदै आएको छ । २०१८ मा अदालतले जियालाई भ्रष्टाचारका दुई फरक मुद्दामा दोषी ठहर गर्दै १७ वर्षको जेल सजाय सुनाएको थियो । नाजुक स्वास्थ्य अवस्थाका कारण हाल उनी घरमै नजरबन्दमा छिन् ।