हेटौंडा। बागमती प्रदेश भ्रमण वर्ष, २०२४ को शुभारम्भ गरिएको छ । प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आजबाट पर्यटन वर्षको सुरुवात गरिएको जानकारी दिइएको हो । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै यो वर्ष धेरै भन्दा धेरै पर्यटक भित्रयाएर मुलुकमा समृद्धी ल्याउन टेवा पुर्याउने प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले बताउनुभयो । पर्यटन प्रबर्दनका लागि बिभीन्न कार्यक्रमहरु गरिने र यसको प्रचार प्रसारमा व्यापकता दिइने मन्त्रालयका सचिब गोविन्द रिजालले बताउनुभयो ।
साँस्कृतिक सम्पदाको विविधता, मनोरम प्राकृतिक परिदृश्य र ऐतिहासिक महत्व बोकेको बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्बर्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्ने र सो को माध्यमबाट बागमती प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउदै अर्थतन्त्रलाई समेत गतिशिल बनाउने उद्देश्य राखेर पर्यटन वर्षको आयोजना गरिएको सचिब रिजालले बताउनुभयो ।
देशको मध्य भागमा अवस्थित बागमती प्रदेशको आफ्नो मौलिक पहिचान समेत रहेको छ । ऐतिहासिक र पुराना शहर, वस्तिहरुका साथै विभिन्न कला, संस्कृति, चाँडपर्व र रहनसहन लगायतका विविधताले सम्पन्न यस प्रदेशमा मनमोहक हिमालका साथै जैविक विविधताले सम्पन्न विभिन्न प्राकृतिक सम्पदाहरु समेत रहेका छन् । विश्व सम्पदा सूचिमा समेत समावेश भएका यस्ता ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाहरुको उचित संरक्षण र प्रचार प्रसार गरी आगामी दिनहरुमा धेरै भन्दा धेरै पर्यटकहरुले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नुका साथै भावी पुस्ताका लागि समेत यस्ता धरोहरहरु संरक्षण एवं हस्तान्तरण गर्ने वातावरण निर्माणका लागि समेत भ्रमण वर्षको अवधि भरमा विभिन्न कार्यक्रमहरुको संचालन गर्ने उद्देश्य समेत भ्रमण वर्षको कार्यक्रमले गर्न लागिएको उहाँले बताउनुभयो । यस्ता कार्यक्रमबाट आन्तरिक र वाह्य पर्यटकलाई प्रोत्साहन गर्दै यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।

विगतमा कोभिड १९ को महामारी तथा अन्य विभिन्न कारणले सुस्ताएको पर्यटन क्षेत्रलाई पूनः जीवन्त र गतिशिल बनाउन र बागमती प्रदेशको भ्रमण गर्ने सबै पाहुनाहरुलाई यस प्रदेशको विविधताका बारेमा स्वः अवलोकन र मूल्याङ्कन गर्ने वातावरण निर्माण गर्न समेत भ्रमण वर्ष सफल हुने अपेक्षा राखिएको छ । बागमती प्रदेश भ्रमण वर्ष २०२४ लाई भव्यरुपमा सफल बनाएर पर्यटन क्षेत्रसँग प्रत्यक्ष र अप्रत्यक्षरुपमा जोडिएका सार्वजनिक निकाय तथा पदाधिकारीहरु, निजी क्षेत्रका व्यवसायीहरु, पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरु, नागरिक समाज, सञ्चार जगत र अन्य सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने भएकाले सम्बद्द सबै पक्षसँग समन्वय र सहकार्यको लागि मन्त्रालयका आठौ तहका अधिकृत उत्तम चापागाईले सबैमा अपिल गर्नु भएको छ।