निशा गुरुङ/हेटौंडा– हेटौंडा खानेपानी बोर्डले गत आव २०७६/०७७ मा करीब ९८ प्रतिशत महसुल संकलन गरेको जनाएको छ । बोर्डले गत आवमा ८ करोड २६ लाख ६० हजार मध्ये ८ करोड ४ लाख ४२ हजार अर्थात ९७ दशमलव ९१ प्रतिशत महसुल उठाएको जनाएको छ ।
वोर्डमा उपभोक्ताहरुले साढे ६२ लाख रुपैया महसुल अग्रीम भुक्तनि गरेका छन् । उपभोक्ताहरुको मन जित्न सफल बोर्डको खातामा उपभोक्ताहरुले खानेपानी महसुल बापतको साढे ६२ लाख रुपैया रकम अग्रिम जम्मा गरेको बोर्डले जनाएको छ । यस्तै बोर्डले गत आवको असार मसान्त सम्ममा करीब १०१ दशमलव ८४ प्रतिशत खर्च गरेको छ । बोर्डले नयाँ पानीको स्रोत, रिजर्भ टयाङ्कीलगायत अन्य भौतिक पुर्वाधार निर्माण, कर्मचारीको तलबलगायत कार्यालय संचालनमा बार्षिक लक्ष्य भन्दा बढी खर्च भएको जनाएको छ । बोर्डले विद्युत महशुल, इन्धन, औजार, जिर्ण पाइप परिवर्तन, प्रणाली मर्मत इत्यादीमा ९० दशमलव २९ प्रतिशत, डिप ट्यूववेल संचालन, सम्मवेल निर्माण, पाइप खरिद, भवन तथा पर्खाल निर्माणमा ६२ दशमलव ०२ प्रतिशत खर्च भई कुल ७७ दशमलव ६२ प्रतिश खर्च भएको बोर्डले जनाएको छ ।
बोर्डले हेटौंडा उपमहानगरापालिका वडा नं. १४ डाइभर डाडामा पाइप खरिद विस्तारको लागि रकम विनियोजिन गरेको छ । जसमा बागमती प्रदेश सरकारसंगको सहलगानिमा खर्च हुनेछ । हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नम्बर २, ४, ५, ६, ७, , ९, १० को पुरै र वडा नम्बर १, १४, १५, १६ र १७ का केही भु—भागमा बसोबास गर्ने करिब १ लाख २५ हजार उपमहानगरपालिका बासीहरुलाई पानीको व्यवस्थापन भईरहेको छ । सतहगत स्रोतमा बुङ्गदोल मात्रै रहेको छ । यस्तै २४ भुमिगत स्रोतहरु (२ सामरी, ३ चौकिटोल, २ कर्रा, ३ कमाने, २ हुप्राचौर, २ टि.सि.एन, २ कुखरेनी, २ नागस्वती, गौरिटार, गर्दोइ, स्मृतिटोल, मयुरधाप, नयाँबस्ती, राइटोल )बाट नियमित ६ देखी ७ घण्टा करिब १ हजार ५५ धाराहरुमा दैनिक सरदर १ करोड ४२ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको वोर्डका लेखापाल सन्जय न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै बोर्डले सेवा क्षेत्र समेत बिस्तार गर्दै आएको छ । हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट सेवा क्षेत्र भित्र विभिन्न ४ स्थानहरुमा डिप ट्यूववेल निर्माण, पानी भण्डारण टयाङ्की निर्माण गरेको छ । मेन तथा शाखा पाइप लाइन विस्तार लगायत अन्य कार्य खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट करिब ८४५ निर्माण कार्य सम्पन्न भई सकेको बोर्डले जनाएको छ । बोर्डले जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा हेटौंडा वडा १४ नम्बर बनेलधापमा ३ लाख लिटर क्षमताको पानी भण्डारणको लागि टयाङ्की निर्माण गर्न लागेको जनाएको छ । पाइप लाइन विस्तार कार्य गर्नको लागि हेटौंडा उपमहानगरपालिकाबाट बोलपत्रको माध्यमद्धारा कार्य अगाडी बढाई सकेको बोर्डले जनाएको छ । नगर क्षेत्र भित्र वडा नम्बर १२, १३, १६, १८ र १९ नम्बरं मा स्थानीय स्तरबाट संचालित खानेपानी उपभोक्ता समितिहरु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्ने क्रममा रहेको र केही समितिहरुबाट हस्तान्तरण प्रकृया अगाडी बढेको जनाएको छ ।