निशा गुरुङ/हेटौंडा

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कानूनले अवैध घोषित गरेको गाजा खेती गर्न नहौस्याउन आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जनतालाई कानुनले अवैध मानेको गाँजा खेती गर्न नउकास्न राजनैतिक नेता एवम स्थानीय तहका जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको हो ।
मुख्यमन्त्री पौडेलले भन्नुभयो– ‘अवैध गाँजा खेती र ओसार पसार गर्नेलाई कानुनले छुट दिएको छैन’ । ‘गाजा खेतीलाई वैध वनाउनु पर्छ भनेर लविङ गर्नु कुनै आपत्तिको कुरो होईन तर अवैध खेती गर्न उकास्नु हुदैन ।’ उहाँले मकवानपुरको भिमफेदी कारागारमा ५० प्रतिशत कैदीवन्दीहरु लागुअँौषधका कारोवार गरेको आरोपमा थुनामा रहेको भन्दै जनताको बिचमा आफ्नो प्रभाव पार्न गैरजिम्मेवारी ढंगबाट गाँजा खेतीतर्फ कृषकलाई प्रोत्साहन गर्ने होडबाजी चलिरहेकोले कानूनले ती कृषकलाई छुट नदिने हुँदा कृषकहरुलाई जेल पठाएर आफु नेतृत्वबाट पन्छिन नमिल्ने बताउनुभयो । उहाँले गाँजाले कानूनी बैद्यता प्राप्त नगरेसम्म कसैलेपनि कृषकलाई गाँजा खेती गर्न उक्सावट गर्न नहुँने भन्दै मुख्यमन्त्री पौडेलले ती सजाँय भोग्ने कृषकको जिम्मेवारी अब नेता र जनप्रतिनिधिले लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले संघियतालाई संस्थागत गर्न तिनै तहको सरकारवीच समन्वय र सहकार्य हुनु पर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा समृद्धि प्राप्तीका लागि इमान्दारीपूर्वक जुट्नुपर्ने भन्दै सस्तो लोकप्रियताको लागि समिक्षामा आएर प्रगती कागजमा मात्रै देखाउन नहुने धारणा व्यक्त गर्नुभयो । समीक्षा गोष्ठीमा एक स्थानीय तहका राम्रो कामहरु अरु स्थानीय तहहरुले सिक्ने र सिकाउने अवसर भएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले गाँजा खेतीले गरिबहरु कहिले धनी नहुने विचार व्यक्त गर्नुभयो । चिनमा माओले अफिम युद्ध किन चलाए त्यो सवैले वुझन जरुरी छन उहाँले भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्यद्वय प्रेमबहादुर पुलामी (छिन्तु), सन्तबहादुर चेपाङ, जिसस मकवानपुरकी उपाध्यक्ष भगवती पुडासैनी, प्रजिअ दिपकराज नेपाल,वाग्मती प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्टलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुख ,प्रमुख प्रशासकीय अधिकृत, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा जिल्लामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्नुहुने व्यक्ति एवम् संघसंस्थालाई सम्मानसहित प्रसंशापत्र प्रदान गरिएको थियो ।